काठमाडौं, २३ असोज । मलेसियामा जारी आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकपको एसियाली छनौट अन्तर्गत पूर्वी क्षेत्रको प्रतियोगितामा नेपालले भुटानमाथि ११७ रनको शानदार जित दर्ता गरेको छ । १५१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ्ग गरेको भुटानले १६ ओभर चार बलमा सबै विकेट गुमाएर ३३ रन मात्रै बनायो ।
नेपालका लागि सन्दीप लामिछाने र ललित नारायण राजवंशीले तीन तीन विकेट लिए । यस्तै बसन्त रेग्मीले दुई तथा दीपेन्द्र सिंह ऐरी र शरद भेषवाकरले एक एक विकेट लिए । भुटानका तेन्जिन वाङ्चुक जुनियरले ११ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले निधारित ओभरमा चार विकेटको क्षतिमा १५० रन बनायो । नेपालका लागि प्रदीप ऐरीले ६८ बलमा नटआउट ७५ रन बनाए । यस्तै अनिल कुमार साहले २१ बलमा २७ रन बनाए । यसैगरी आरिफ शेखले १३, दिपेन्द्र सिंह ऐरीले १५ रन बनाए ।
प्रयोगितामा नेपालको यो लगातार चौथो जित हो । नेपालले पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा मलेसियालाई समान आठ विकेटले हराएको थियो । तेस्रो खेलमा आइतबार थाइल्याण्डलाई डकवर्थ लुइस नियमका आधारमा एक सय ४० रनले पराजित गरेको थियो ।