नेकपामा घोचपेच राजनीति : दोस्रो तहका नेता पनि मैदानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नेकपामा घोचपेच राजनीति : दोस्रो तहका नेता पनि मैदानमा

yogesh bishnu

काठमाडौं, १६ असोज । आन्तरिक एकीकरणको प्रक्रियामा रहेको नेपाल कम्युनिस्ट पार्टीमा पूर्व एमाले खेमाभित्र आरोपप्रत्यारोप चुलिएको छ।
पार्टीको आन्तरिक एकता प्रक्रियामा असन्तुष्ट नेता माधव नेपालले संसद् बैठकमा आफ्नै पार्टीले नेतृत्व गरेको सरकारको आलोचना गरेपछि सुरु भएको घोचपेच राजनीतिमा दोस्रो तहका नेतासमेत जोडिन पुगेका छन्। संसद् बैठकमा नेता नेपालले सरकारको काम सन्तोषजनक नभएको टिप्पणी गर्दै देश डुब्न लागेको बताएका थिए। त्यसको जवाफमा संयुक्त राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले भने, म केही दिनका लागि संयुक्त राष्ट्रसंघतिर आएँ, केही नेताले लौ न देश डुब्न लाग्यो, कोही त आऊ बचाऊ भनेको सुनियो । म फर्केर गइहाल्छु, त्यो समस्याको कुरा होइन।’

घोचपेचको यही शृंखलामा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल पनि जोडिए। उनले नेता नेपाललाई लक्षित गर्दै ट्विट गरे, ‘मानिसको पतन त्यस समय सुरु हुन्छ, जब आफ्नैलाई ढाल्न पराईसँग सल्लाह लिन सुरु गरिन्छ।’ रिमालको ट्विट संसद्मा नेता नेपालले सरकारको कामलाई लिएर गरेको आलोचनातर्फ लक्षित थियो। नेता नेपालले सरकारको कामका बारेमा गरेको आलोचनालाई प्रतिपक्षीले समेत समर्थन जनाएका थिए।

रिमाल प्रधानमन्त्रीको भ्रमण टोलीमा ओलीसँग साथै छन्। रिमालको १२ असोजको ट्विटको जबाफमा नेता नेपाल निकट स्थायी समिति सदस्य योगेश भट्टराईले १३ असोजमा ट्विट गरे, ‘सत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरु पतन भएको देख्दा रहेछन्। कठै दोषी चस्मा’
नेकपाभित्र शीर्ष तहका नेताबीच घोचपेच चलिरहँदा पछिल्लो पुस्ताले त्यसलाई पछ्याउन नहुने विचार राख्ने नेताहरु पनि छन्। ओलीनिकटका केन्द्रीय सदस्य राजन भट्टराई नेतृत्व तहमा हुने यस्ता असन्तुष्टि छलफलपछि माथिल्लो तहमै टुंगिने भएकाले यस्ता विषयलाई पछिल्लो पुस्ताले पछ्याउन नहुने बताउँछन्। ‘जुन पुस्तालाई हामी सुध्रिनुपर्छ भनिरहेका छौं, त्यही पुस्ताले गरेका नकारात्मक अभ्यासलाई हामीले पछ्याउनु हुँदैन’, उनले भने। नेतृत्व तहमा भएको घोचपेचलाई लिएर दोस्रो पुस्ता पनि आरोपप्रत्यारोपमा उत्रिएबाट पहिलो र दोस्रो पुस्ताबीच भिन्नता नै नदेखिएको उनको भनाइ छ।

‘पहिलो पुस्ताले गरिरहेका गलत अभ्यासलाई हामीले पनि पछ्यायौं भने के भिन्नता भयो र’, उनले थपे। भट्टराईले पार्टीभित्र बेलाबेलामा यस्ता असन्तुष्टि देखा पर्ने बताए । पार्टीभित्रका असन्तुष्टि पार्टीकै आधिकारिक बैठक वा फोरममा मात्र राख्नुपर्ने नियम भए पनि लोकतान्त्रिक अभ्यासअन्तर्गत कहिलेकाहीं बाहिर पनि आउने गरेको उनको भनाइ छ।

नेता नेपालनिकटका केन्द्रीय सदस्य ठाकुर गैर अहिले देखिएको विवाद कुनै व्यक्तिविशेषको भन्दा पनि समग्र पार्टीको विषय भएकाले व्यक्तिगत लाञ्छनामा उत्रिन नहुने बताउँछन्। ‘यो व्यक्तिको विषय होइन, समग्र पार्टीसँग जोडिएको विषय भएकाले यसको समाधान पनि त्यसरी नै खोजिनुपर्छ,’ गैरेले भने । हाल पार्टी स्थायी समितिको बैठक नबसेको र निर्णयहरु संस्थागत हुन नसकेको उनको भनाइ छ। अहिले देखिएको समस्या समाधानको एकमात्र विकल्प स्थायी समितिको बैठक भएकाले तत्काल बैठक बोलाएर समस्या समाधान गर्नुपर्ने उनले बताए। ‘शीर्ष नेताले व्यक्त गर्ने विषयले समाजलाई तरंगित गर्नु र त्यस्ता विषयमा बहस हुनु स्वाभाविक हो तर बहसमा कसरी प्रस्तुत हुने भन्ने कुरा व्यक्तिले सोच्नुपर्छ’, गैरेले भने। विधानमा व्यवस्था भएको विधिअनुसार पार्टी अघि बढेमा कुनै समस्या नआउने उनको भनाइ छ। ‘व्यक्ति होइन, विधिलाई पछ्याउने र सामूहिक नेतृत्वको अभ्यास पालना गर्दै वैधानिक निकायलाई जिम्मेवारी दिने हो भने कुनै समस्या हुँदैन,’ उनले थपे।

अर्का केन्द्रीय सदस्य सूर्य थापाले दुई दलबीच एकता भइरहेका बेला चिनी र पानीको जस्तो घुलनशीलता हुनुपर्नेमा नेताहरुको जुहारीले दुनियाँ हसाइरहेको बताए। ‘अहिले पानी र तेलजस्तो हुने अवस्था होइन, पार्टी एकता तल्लो तहसम्म पुग्न सकेको छैन, त्यसैले यस्तो बेला नेताहरु जिम्मेवार बन्नुपर्छ,’ उनले भने। पार्टी संक्रमणकालबाट गुज्रिरहेको हालको अवस्थामा कहीं कतैबाट उकास्ने प्रयास हुने भएकाले यस्ता विषयमा नेताहरु सतर्क रहनुपर्ने उनको भनाइ छ। थापाले शीर्ष नेताबाट सुरु भएको घोचपेच शैली दोस्रो पुस्ताको नेताले पनि पछ्याएको देख्दा गुटबन्दी तल्लो तहसम्मै जाने खतरा बढेको बताए।

नेता नेपालले अनुपयुक्त मञ्चमा पार्टीको आलोचना गरेको र अध्यक्ष ओलीले देशभित्रका महत्वपूर्ण विषयमा ध्यान दिन छाडेर विदेश भ्रमण लम्ब्याएको भन्दै थापाले असन्तुष्टि व्यक्त गरे। सबै पार्टीको विधि र पद्धतिअनुसार चल्नुपर्ने, विधि र पद्धति व्यक्तिका लागि मात्र नभएर समग्र पार्टीका लागि हुनुपर्ने उनको भनाइ छ। आजको नागरिक दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);