कैलाली, १४ असोज । प्रदेश ७ को राजधानी गोदावरी र नाम सूदुरपश्चिम राख्ने निर्णय भएपछि धनगढी बजार अशान्त बनेको छ । धनगढीका सर्वसाधरणले प्रदेशसभाको राजधानी र नामका विषयमा गरेको निर्णयका विरुद्ध नारा जुलुस र विरोध पर्दशन कारण दैनिक जनजिवन समेत प्रभावित भएको हो ।
दुई तिहाई बहुमतले गत शुक्रवार प्रदेश ७ को राजधानी कैलालीको गोदावारी र नाम सुदूर पश्चिम राख्ने निर्णय गरेपछि धनगढी पुरै अशान्त बनेको छ । नागरिक समाज सघर्ष समितिको आह्वानमा शनिवारदेखि शुरु भएको अनिश्चितकालिन बन्दका कारण मानिसहरुको दैनिक जीवन अस्तव्यस्त बनिरहेको छ ।
लगातारको बन्दका कारण बजार, उद्योगधन्दा, कलकारखाना, यातायातको साधन पूर्ण रुपमा ठप्प छ । मोटरसाइकल, साइकल र विद्युतीय रिक्सा फाटफुट चलेपनि लामो तथा छोटो दुरीका यातायातको साधन सञ्चालन हुन सकेको छैन । धनगढीबाट जाने र आउने यातायातका साधनलाई बन्दकर्ताहरुले धनगढी र गोदावरी नगरपालिकाको सीमा क्षेत्रमै रोक्ने गरेका छन् ।
त्यसैगरी, बन्दका कारण सबैभन्दा बढी समस्या शिक्षक आयोगको परीक्षा दिन आएका परीक्षार्थीहरुलाई परेको छ । दुरदराजबाट शहरमा परीक्षा दिन आएकाहरु बन्दको चपेटामा परेका छन् । कयौनको शनिवारको परीक्षामा समेत छुटेको छ ।
दशैको मुखमा धनगढी बजार बन्द हुँदा कयौनका दैनिकी चलाउन समेत धौ धौ परिरहेको छ । नागरिकलाई प्रत्यक्ष रुपमा असर पर्ने बन्द हड्ताल किन गरिरहेका छन त मानिसहरु । सत्तापक्षले संसदीय परम्परालाई पनि लत्याएर तानाशाही प्रवृतिमा राजधानीको नाम र स्थान पारित गरेको भन्दै आन्दोनलमा गर्नु परेको सघर्ष समितीको भनाई छ ।