निर्मला पन्तको हत्या प्रकरण : आयो सोच्दै नसोचेको डिएनए रिपोर्ट | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

निर्मला पन्तको हत्या प्रकरण : आयो सोच्दै नसोचेको डिएनए रिपोर्ट

nirmala panta hatya

कञ्चनपुर, १४ असोज । बलात्कारपछि हत्या गरीएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोप लागेका निलम्बित कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिका मेयर सुरेन्द्र बिष्टका भतिजा आयुश विष्टको डिएनए रिपोर्ट नेगेटिभ देखिएको छ ।

दुई साता अघि प्रहरी प्रधान कार्यालयले उनीहरु तीनै जनाको डिएनए परीक्षणका लागि रगत लिएको थियो । केन्द्रीय विधि विज्ञान प्रयोगशालाबाट प्राप्त सिलबन्दी रिपोर्टलाई आइतबार कञ्चनपुर प्रहरीले खोलेको थियो । मृतक निर्मला पन्तको योनीमा भेटिएको भजाईनल स्वाब सँग तीनै जनाको डिएनए नमिलेको रिपोर्ट आएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

पीडितले तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख विष्ट, उनका छोरा किरण र अर्का युवक आयुसको डिएनए परीक्षणको माग बमोजिम प्रहरी प्रधान कार्यालयले घटनाको थप अनुसन्धानका लागि डिएनए परीक्षण गरेको थियो । सरकारी वकिल कार्यालय कञ्चनपुरका जिल्ला न्यायाधिवक्ता खेमराज भट्टले रिपोर्ट निगेटिभ आएको जानकारी दिए ।

न्यायाधिवक्ता भट्टले निर्मलाको डिएनए प्रोफाईल बनेको र जसले बलात्कार गरेको हो, त्यसको डिएनए म्याच हुने बताए । घटना पछि पक्राउ गरेर सार्वजनिक गरिएका भीमदत्त नगरपालिका १९ बागफाँटाका ४१ वर्षीय दिलिप विष्ट, भीमदत्त नगरपालिका १८ निम्बुखेडाका चक्रदेव बडूको समेत डिएनए रिपोर्ट मिलेको थिएन ।

यस अघि पक्राउ परेका दुई र बाँकी तीनै जनाको डिएनए रिपोर्ट नमिलेपछि अब निर्मलाका वास्तविक हत्यारा को हो ? भन्ने प्रश्न खडा भएको छ । कञ्चनपुर प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ ।