पोखरामा पनि बलात्कारपछि बालिकाको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पोखरामा पनि बलात्कारपछि बालिकाको हत्या

balika mom

कास्की, १० असोज । पोखरा–२२ पुम्दीभुम्दीको कोदी गाउँकी श्रीया सुनार सोमबार साँझ साढे ५ बजे मामाघरबाट निस्किएकी थिइन् । बिस्कुट किन्न पसल हिँडेकी १० वर्षीया सुनार मंगलबार बिहान मृत अवस्थामा भेटिइन्

निधारभरि चौटैचोट  घाँटीमा नीलडाम  धारिलो र चुच्चो वस्तुको प्रहारले क्षतिविक्षत शरीर । छेवैमा रगत लतपतिएका तीनवटा ढुंगा  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोस्टमार्टम रिपोर्टले बलात्कारपछि हत्या भएको उल्लेख गरेको छ । मृत्युको कारण टाउकोमा लागेको चोट भएको रिपोर्टमा छ ।
सुनारका बाबुले दुई वर्षअघि अर्की बिहे गरेपछि भैरहवातिर लागेका थिए । आमा बेलकुमारीलाई रोगले च्याप्यो । बेलकुमारीका पिता लीलबहादुर सुनारले छोरी, तीन नातिनी र एक नातिलाई आप्ःनैमा बोलाए । जम्मा २० मिनेटको दूरी छ दुई घरको । ज्यामी काम गरेर सकीनसकी उनले छोरीको उपचार गराए । नातिनातिना पढाए । केही बिसेक भएपछि गत बुधबार मात्रै बेलकुमारी घर फर्केकी थिइन् । श्रीया घरि घर, घरि मामाघर गरिरहन्थिन् । उनी मामाघरमै बस्ने भइन् । गाउँकै लीला आधारभूत विद्यालयमा उनी ३ कक्षामा पढ्थिन् । आइतबार स्कुलबाट आएर खाजा खान पाँच रुपैयाँ लिएर पसल हिँडिन् । मामाघर र पसलको दूरी पाँच मिनेट पनि छैन । बिस्कुट किन्न हिँडेकी नातिनी अबेरसम्म घर नफर्केपछि हजुरआमा विष्णुमाया र मामा कृष्णले यताउता खोजे । आफन्तलाई फोन गरे । हजुरबुवा लीलबहादुर कामबाट फर्किएर बेलुका ९ बजेसम्म खोजे । श्रीया कतै फेला परिनन् ।

लीलबहादुर बिहान उठेर नजिकैको छोरोपाटन प्रहरी चौकीमा नातिनीको फोटो लिएर निवेदन दिन गए । ८ बजेको हुँदो हो । उनले निवेदन लेख्दै गर्दा घरबाट नातिनी भेटिएको खबर आयो । बेतोडले घर फर्किएपछि थाहा भयो, श्रीयाको सास थिएन । गाउँले मिलेर खोज्दा छिमेकी तुलसीप्रसाद ढकालले घरभन्दा ५० मिटर परको जंगलमा बाटोमुनि शव देखे । ‘शव घोप्टो परेको थियो । एउटा खुट्टा आकाशतिर फर्किएको थियो,’ उनले भने, ‘सुरुवाल घुँडामुनि पुगेको थियो ।’ उनैले खबर गरेपछि प्रहरी पनि पुग्यो ।

मामाघरबाट पसल जाँदा ओरालो झर्नुपर्छ । छोरेपाटनबाट विश्व शान्ति स्तूप जाने पैदलमार्ग यही हो । बीचबाटो केही एकलास छ । एकातिर जंगल र अर्कोतिर बासँघारी छ । बाटोमै जोडिएको एउटा पुरानो घर छ । एककोठे घरमा मानिस नबसेको थुप्रै भयो । नजिकै खानीपानी ट्यांकी र बरालको कुल मन्दिर पनि छ । मन्दिरअघि एउटा घर छ । त्यही मन्दिर काटेपछि मोटरबाटो निस्किन्छ । जहाँ दुई–तीनवटा पसल छन् । ‘नातिनी घरबाट बाहिर निस्किँदा यस्तो भयो,’ हजुरबुवा लीलबहादुरले भने, ‘छोरीचेली बाहिर निस्किनै गाह्रो भयो ।’

श्रीया माइली छोरी हुन् । उनीमाथि १४ वर्षीया दिदी, मुनि ५ वर्षीया बहिनी र ७ वर्षीय भाइ छन् । उनको मृत्युको खबरले आमा बेलकुमारी अर्धचेत छिन् । शव पोस्टमार्टम गर्न लैजाने बेला एकपल्ट छोरीको मुहार हेर्न हारगुहार गरिन् । प्रहरीले तन्नाले बेरेको श्रीयाको शवबाट अनुहार मात्रै देखाइदियो । उनले ज्यान छोडिन् । थुचुक्क बसेर चिच्याउँदै भनिन्, ‘मेरी फूलजस्ती छोरीको परान कुन पापीले लयो ।’

जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले विशेषज्ञ टोलीसहित घटनाको सूक्ष्म अनुसन्धान भइरहेको बताएका छन् । ‘हामी तथ्यको नजिकै पुगेका छौं,’ उनले भने, ‘अपराधी छिट्टै पत्ता लाग्ने छ ।’ श्रीयाका काका एवं उनी पढ्ने विद्यालयका व्यवस्थापन समिति अध्यक्ष मीनबहादुर विश्वकर्माको संयोजकत्वमा २१ सदस्यीय संघर्ष समिति पनि बनेको छ । छिटोभन्दा छिटो अपराधी पत्ता लगाउनुपर्ने समितिको माग छ । उनको शव पोस्टमार्टमपछि पनि गण्डकी क्षेत्रीय अस्पतालको शवगृहमै छ । अपराधी पत्ता नलागेसम्म शव सद्गतका लागि नलाने अडान आफन्तले लिएका छन् ।

एक महिनामात्रै भयो कोदीकै एक किशोरीको शव भेटिएको । १८ वर्षीया सुष्मिता लामिछानेको शव भदौ ११ मा फेवा बाँधमा भेटिएको थियो । भदौ १० बाट सम्पर्कविहीन भएकी उनी खोलामा डुबिरहेको अवस्थामा फेला परेकी थिइन् । यद्यपि उक्त घटनालाई प्रहरीले आत्महत्या भनेको छ । श्रीयाको मामाघर र सुष्मिताको घर जम्मा २ मिनेटको दूरीमा पर्छ । आजको कान्तिपुरमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);