काठमाडौं, ४ असोज । प्रतिनिधिसभाका १० वटा विषयगत समितिको सभापति चयनका लागि आज मनोनयन दर्ता हुँदैछ ।
समिति सभापतिको लागि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ता गर्न सकिने प्रतिनिधिसभा सचिवालयले जनाएको छ । साँझ साढे ५ बजे उम्मेदवारको अन्तिम सूची प्रकाशित हुनेछ । एकमात्र मनोनयन परेमा सर्वसम्मत चयन हुने र एकभन्दा बढी मनोनयन परेमा भोलि बिहान ११ बजे चुनाव गर्ने तयारी रहेको छ ।
एकभन्दा बढी समितिमा सदस्य रहेका सांसदलाई आफूले मताधिकार प्रयोग गर्ने समितिको जानकारी दिन आजसम्मको समय दिइएको छ र यसको जानकारी सभामुखलाई उपलब्ध गराउनु पर्ने सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रीहरू विभिन्न समितिमा पदेन रहने व्यवस्था छ । तर,मतदानको अवस्था सिर्जना भएमा एउटा मात्र समितिबाट मतदान गर्नुपर्नेछ ।




