मदिरा पिउनेलाई परिचयपत्र | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८१, शनिबार

मदिरा पिउनेलाई परिचयपत्र

parichaya patra

धनगढी, २ असोज । बाजुराको गौमूल गाउँपालिका क्षेत्रभित्र मदिरा सेवन गर्न मन लागे गाउँपालिका कार्यालयलाई जानकारी हुनैपर्छ ।
जानकारी मात्रै होइन, कार्यालयले जारी गरेको परिचयपत्रबिना मदिरा सेवन गरे दण्डसजाय नै भोग्नुपर्छ ।

गाउँ समाजमा छाडा रूपमा हुने मदिरा सेवनले पूरै समाज बिगार्ने गरेको निष्कर्षपछि गाउँपालिकाले सेवनकर्ताले परिचयपत्र लिनुपर्ने नियम बनाएको हो । ‘गाउँमा जति पनि झैझगडा र कुटपिटका घटना हुन्छन्, ती सबैका पछाडि मदिरा सेवन मुख्य कारण हुने गरेको देखियो,’ गाउँपालिका अध्यक्ष हरिबहादुर रोकाया भन्छन्, ‘परिचयपत्र लिनुपर्ने नियम लागू भएपछि यस्ता घटना न्यूनीकरण हुनेछन् ।’
गाउँपालिकाले गत असारमा ‘मदिरा व्यवस्थापन गर्न बनेको ऐन २०७५’ लागू गरेपछि साउनदेखि मदिरा सेवन परिचयपत्र जारी गरेको हो । हालसम्म १ सय ५० भन्दा बढीले यो कार्ड लिएको अध्यक्ष रोकायाले बताए । मदिरा सेवन परिचयपत्र लिन वार्षिक ५ सय रुपैयाँ बुझाउनुपर्ने नियम छ ।
नियम उल्लंघन गर्नेलाई समेत उत्तिकै कडा कानुन लाग्छ । परिचयपत्र लिएकाले साँझ ६ देखि ९ बजेसम्म मात्र मदिरा पिउन पाउँछन्, त्यो पनि निश्चित तोकिएको मात्रामा मात्र । एक जनाले एक दिनमा १८० मिलिलिटर मात्र मदिरा पिउन पाउने नियम रहेको अध्यक्ष रोकायाले बताए । ‘गाउँमा आउने पाहुनाले पनि यो कार्ड नभए मदिरा सेवन गर्न वर्जित गरिएको छ ।’ नियमविपरीत मदिरा सेवन गरेको भेटिए कार्ड नभएकालाई पहिलो पटक २ हजार र दोस्रो पटक ७ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

गाउँघरका पसल–पसलमा मदिरा राख्ने चलन मौलाउँदै गएपछि गाउँपालिकाले पहिलो चरणमा मदिरा बिक्रीवितरणलाई व्यवस्थित गर्न सुरु गरेको थियो । गाउँपालिकाभर करिब २ सय मदिरा पसल थिए । अहिले त्यसमा नियन्त्रण गरिएको छ । ‘सबैले मदिरा बिक्री गर्न नपाउने नियम बनाएका छौं,’ रोकायाले भने, ‘निश्चित मापदण्ड पूरा गरेकालाई मात्र विक्रेताको अनुमति प्रदान गरिनेछ । हाल गाउँपालिकाभर १० वटा पसललाई मात्र मदिरा बिक्री गर्ने अनुमति दिइएको छ ।’ मदिरा पसल चलाउन पनि लाइसेन्स अनिवार्य छ । ‘हरेक पसलेका मदिरा सेवन कार्ड भएका ग्राहक हुन्छन् र उनीहरूले पिएको मदिराको रेकर्ड पसल सञ्चालकले राख्नुपर्छ,’ रोकायाले भने ।

गाउँपालिकाले विक्रेताको खरिद, बिक्री र मौज्दात तथा मदिरा सेवनकर्ताको कडा अनुगमन गर्ने गरेको बताएको छ । ‘मदिरा सेवनमा पूर्ण बन्देज लगाउन नसकिए पनि परिचयपत्रको नियम लागू गरेर व्यवस्थित गर्न खोजिएको हो,’ अध्यक्ष रोकायाले भने । आजको कान्तिपुरमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);