काठमाडौँ, १ असोज । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले पार्टी कार्यालयमा शनिबार सरकारमाथि आलोचनाको प्रतिवाद नगरेकामा नेता–कार्यकर्तासँग असन्तुष्टि जनाए ।
‘एउटा अरिंगाललाई चलाउनुभयो भने सिंगै गोलो खनिन्छ तर हामीसँग अरिंगालको जति पनि बुद्धि छ कि छैन र,’ उनको भनाइ थियो, ‘त्यो हामीले हेर्नुपर्ने भएको छ । एउटा अरिंगाललाई मार्यो भने ठीकै छ भन्ने कि एकजुट भएर प्रतिवाद गर्ने ।’
सरकारविरुद्ध चौतर्फी आक्रमण भइरहँदा पनि नेता–कार्यकर्ता चुप बसेको भन्दै ओलीले आक्रोशमात्र पोखेनन्, पार्टी भित्रभित्रै खोक्रो पार्ने ‘धमिरा प्रवृत्ति’ देखिएको पनि उल्लेख गरे । कुनै बेलाका अत्यधिक क्रियाशील र जुझारु मानिने पार्टीका नेता–कार्यकर्ता यतिबेर किन ओलीले भनेजस्तो ‘अरिंगाल’ बन्न सकेका छैनन् त रु ‘यो प्रश्नको जवाफ भेट्न ओलीजीकै कार्यशैली केलाउनुपर्ने हुन्छ,’ नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले भने, ‘अरिंगालको जस्तो सामूहिकता खोज्नेले आफूले पनि त्यही शैली अपनाउनुपर्छ तर पार्टीभित्र अहिले सामूहिकता हराएको छ । के हुँदै छ, के गरिँदै छ, कसैलाई थाहा हुँदैन । अनि उहाँले गरेका कामको स्वामित्व अरूले कसरी लिन सक्छन् ।’
गत जेठमा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि दुवैतर्फका तल्ला तहका संगठन करिब ‘प्यारालाइज’ भएका छन् । माथिल्लो तहमा केन्द्रीय समिति, स्थायी समिति र सचिवालय बनेका छन् । तर, केन्द्रीय समिति र स्थायी समितिको बैठक नै बस्दैन । एकतापछि जम्माजम्मी परिचय गर्ने प्रयोजनका लागि मात्र यस्ता बैठक बसे । नौ जना रहेको सचिवालय बनेको छ । त्यसको मात्र बैठक बस्छ ।
सचिवालयभन्दा तल्लो तहमा कुन–कुन विषयमा कसरी जाने भन्ने छलफल हुने गरेको छैन । सचिवालय पनि दैनिक काम गर्ने थलोजस्तो छ । अधिकांश काम अध्यक्षद्वयले आफ्नो तरिकाले गरिरहेका छन् । ‘आन्तरिक लोकतन्त्र कमजोर बनाइएको छ, के भन्न खोजेको, के गर्न खोजेको हो, उहाँहरूबाहेक अरूले थाहै नपाउने अवस्था छ, यस्तो स्थितिमा पार्टीका नेता–कार्यकर्ता एकढिक्का भएर कसरी उभिन सक्छन् र ।,’ भुसालले भने, ‘उहाँ सामूहिकतामा चल्नुभएको छैन, त्यसकै परिणाम अहिले देखिँदै छ ।’
प्रधानमन्त्री ओलीले यसअघि पनि पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा ‘आफ्नो पार्टीमा तथ्य र तर्कसहित सरकार र पार्टीको बचाउ गर्न सक्ने कोही छैनन् । दार्शनिकहरू नै देख्छु तर कोही बोल्दैनन् किन ।’ भन्दै प्रश्न गरेका थिए । तर, सरकारको सार्वजनिक बचाउमा नेताहरू खुला रूपमा बाहिर नआएपछि शनिबार फेरि त्यस्तै अभिव्यक्ति दोहोर्याए ।
‘राजनीतिक रूपमा हामी कहाँ जान खोजेका छौं, के गर्दैछौं भन्ने नै स्पष्ट छैन,’ माओवादी केन्द्रबाट एकता प्रक्रिया जोडिएका स्थायी समिति सदस्य मणि थापाले भने, ‘केन्द्रमा एकता गरियो तर भावनात्मक एकता हुन सकेको छैन । यस्तो बेला हरेक विषयमा पर्याप्त छलफल र बहस हुनुपर्ने थियो, त्यो पनि छैन । त्यसैले कसैले बोलेको वा गरेको गतिविधिमा अर्कोले स्वामित्व लिन सकेको छैन ।’ अहिले पार्टीभित्र हुने गतिविधिको स्वामित्व व्यक्तिले नै लिनुपर्ने, अरू जिम्मेवार नहुनेजस्तो अवस्था आएको उनी बताउँछन् ।
‘अहिले मुलुकमा यत्रो घटना (निर्मला पन्त बलात्कार र हत्याकाण्ड) भएको छ, मुलुक नै हल्लिएको छ तर पार्टीमा कुनै धारणा बनेको छैन,’ थापाले भने, ‘यस्तो अवस्था अरू घटनाहरूमा पनि देखिइरहेको छ ।’ फरक–फरक धारको प्रतिनिधित्वबाट पार्टी बनेकाले नेताका कार्यशैली पनि भिन्न छन् । दुई जना अध्यक्ष छन् । ओली र पुष्पकमल दाहालको कार्यशैली भिन्न छ ।
यद्यपि उनीहरूबीच देखिने खालको विमति बाहिर आएको छैन । तर विगतको पृष्ठभूमिका आधारमा एकले अर्काप्रति गर्ने आशंकाको बादल फाटेको छैन । यस्तो अवस्थामा पार्टीका बैठक र छलफलले दूरी कम गर्न सक्छन् । अहिले नेकपामा ‘कमिटी प्रणाली’ खस्किँदै गएको अनुशासन आयोगमा रहेका नेता अमृत बोहराको भनाइ छ । उनले केही दिनअघि सार्वजनिक रूपमै ‘कमिटी प्रणाली’ ध्वस्त हुन थालेको भन्दै नेतृत्वलाई चेतावनी दिएका थिए ।
कम्युनिस्ट पार्टीको ‘कमिटी प्रणाली’ भनेको सुरुमा एजेन्डा तय गर्ने, त्यसमाथि आन्तरिक रूपमा व्यापक छलफल गर्ने, त्यसपछि निर्णय गर्ने र त्यो निर्णयको स्वामित्व सबैले लिने भन्ने हो । तर अहिले केही व्यक्तिका निर्णयमाथि पार्टी चल्ने खालको प्रवृत्ति भित्रिएको नेताहरूको भनाइ छ ।
‘हामीले एकता ऐतिहासिक आवश्यकता भन्दै धेरै कम्प्रोमाइज गर्यौं, एकताका लागि सुरुमा ७ जना अनि पछि दुई जनालाई जिम्मेवारी दियौं । त्यसले यस्तो स्थिति निम्त्यायो कि दुई जनाले गरेपछि जे पनि हुन्छ भनेजस्तो भयो,’ भुसालले भने, ‘आन्तरिक लोकतन्त्रमा आएको यही ह्रासले अहिले पार्टी कहाँ पुग्ने हो, ठेगान छैन ।’
कुन विषयमा पार्टीको धारणा के र कसरी अघि बढ्ने भन्नेमा पर्याप्त छलफल नहँ‘दा नेताहरूबीचमै पनि वैमनस्यको अवस्था आउने गरेको छ । डेढ महिनाअघि डा. गोविन्द केसीको सत्याग्रह उत्कर्षमा पुगिरहेका बेला नेकपाका प्रवक्तासमेत रहेका नेता नारायणकाजी श्रेष्ठ उनलाई भेट्न अनशनस्थल पुगे । केसीको आन्दोलनप्रति सरकार सकारात्मक थिएन । त्यही बेला श्रेष्ठ स्थिति सहजीकरण गर्न भन्दै भेट्न पुगेका थिए । तर पार्टीको सचिवालय बैठकमा उनले प्रधानमन्त्री एवं अध्यक्ष ओलीको हप्की खाए । किन केसीलाई भेट्न गएको भन्दै प्रधानमन्त्रीले प्रश्न गरेपछि श्रेष्ठले पनि जवाफ फर्काए । त्यही बैठकको भनाभनपछि श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिए ।
श्रेष्ठले त्यही बेला पार्टीभित्र स्थायी समिति बैठक राख्नुपर्ने र सरकारका कामकारबाहीलगायत विषयमा छलफल गर्नुपर्ने प्रस्ताव अघि सारे । सचिवालयले स्थायी समिति बैठक राख्ने निर्णय गरेर मिति पनि तोक्यो । तर, सचिवालयभन्दा ठूलो र निर्णायक तहमा रहेका नेताहरू सम्मिलित हुने स्थायी समिति बैठक पर सरेको सर्यै छ । तल्लो तहको एकता गर्ने भनेर झन्डै दुई महिनाअघि प्रदेश र जिल्लाका कार्यदल बनाइयो । ती कार्यदलले सर्वसम्मत प्रतिवेदन बनाउन सकेनन् ।
त्यसपछि केन्द्रीय सचिवालयबाटै एकताको प्रस्ताव तयार गरियो । उक्त प्रस्ताव पनि विवादरहित छैन । एकताभन्दा गुटको भावनाले प्रतिवेदन ल्याएको भन्दै विवाद भएको छ । तत्कालीन एमालेभित्रको माधव नेपाल समूह, तत्कालीन माओवादीका नारायणकाजी र रामबहादुर थापा समूह तल्लो कमिटीका एकता प्रस्ताव स्विकार्ने अवस्थामा छैनन् । ‘एकता प्रक्रिया गुट–उपगुटको जटिलतामा जकडिएको छ,’ स्थायी समिति सदस्य थापाले भने, ‘एकता प्रक्रिया जति लम्बिन्छ त्यति समस्या बढदै जान्छन् ।’
प्रधानमन्त्री ओलीले ‘अरिंगाल बन्नुपर्ने’ अभिव्यक्ति दिएकै कार्यक्रममा एकता प्रक्रियालाई ‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड’ को पनि संज्ञा दिए । ‘जाने यो एकता श्रीखण्ड हो, जानेनौं भने खुर्पाको बिँड पनि हुन सक्छ,’ उनले भने । तर अहिले सबैभन्दा बढी प्रश्न पार्टीभित्र ओलीकै कार्यशैलीबारे उठिरहेका छन् । ‘ओली आफैंचाहिँ पार्टीलाई श्रीखण्ड बनाउनुहुन्छ कि खुर्पाको बिँड ,’ नेता भुसालको प्रश्न छ । आजको कान्तिपुरमा खवर छापिएको छ ।