काठमाडौं, ३१ भदौ । प्रतिनिधिसभाका सांसदहरुले चीनसँग जोडिएका नाकामा नेपालको पूर्वाधारको अवस्था सुधार गर्न सरकारसँग माग गरेका छन् ।
आईतबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले चीनसँग पारबहन प्रोटोकलमा सहमति जुटाउने ऐतिहासिक र क्रान्तिकारी काम गरेकोमा आभार व्यक्त गरे । उनले चीनसँगको प्रोटोकलमा जुटेको सहमतिले नेपालले तेस्रो मुलुकसँग सिधा आवातजावत गर्न सक्ने भए पनि नेपालतर्फको नाकाहरुको अवस्था नाजुक रहेकोे बताए ।
भट्टराईले नेपाल तर्फको नाकामा यातायातको पूर्वाधारमा सुधार गर्न तत्काल लागिपर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले निजगढ अन्तराष्ट्रिय विमानस्थलको नाममा सरकारले लुट मच्चाउन खोजेको आरोप लगाए । उनले विमानस्थल निर्माणको नाममा लाखौं रुख कटानी गर्ने अवस्था आएको भन्दै आक्रोश व्यक्त गरे ।
राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले निर्मला पन्तको हत्यारालाई तत्काल पक्राउ गरी कारवाही नगरे सरकारको प्रतिष्ठानमै गम्भिर आँच आउने चेतावनी दिए । उनले सो घटनामा पहुँचवाला व्यक्तिको हात रहेको उल्लेख गर्दै रोशनी र बबिता बमलाई पनि छानवीनको दायरामा ल्याउन सरकारसँग माग गरे ।
हुम्लाका सांसद छक्कबहादुर लामाले शिक्षा सेवा आयोगको परीक्षा हुम्लाको सिमिकोटमा लिने व्यवस्था गर्न माग गरे ।




