बलात्कार आरोप लगाउने डर देखाएर ५ लाख ठगी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बलात्कार आरोप लगाउने डर देखाएर ५ लाख ठगी

thagi

नेपालगन्ज, २७ भदौ ।  मायालुले आफ्नो प्रेमीलाई फोन गरेर भेट्न बोलाउँछिन् । प्रेमी तुरुन्तै पुग्छन् । होटलको कोठा पहिल्यै बुक गरिएको रहेछ । दुवै कोठाभित्र पस्छन् । भलाकुसारी सुरु हुनासाथ दुई प्रहरी पनि कोठामा छिर्छन् ।

त्यसपछि ती महिलाले आफूलाई बलात्कार गर्न खोजेको आरोप प्रेमीमाथि लगाउँछिन् । त्यस्तो आरोपपछि प्रहरीले प्रेमीलाई कुटपिट गर्छ । बलात्कार मुद्दा लगाइदिने धम्की दिएर प्रेमीसित १० लाख माग्छन् । युवकले पनि केही दिनको समय माग्छन् । ऋण खोजेर भए पनि ५ लाख रुपैयाँ बुझाएर बलात्कार मुद्दा झेल्नबाट जोगिन्छन् ।

यो फिल्मी कथा होइन । बाँकेको नेपालगन्जमा फिल्मी शैलीमा भएको ठगी घटना हो । बैजनाथ गाउँपालिका ४ की २६ वर्षीया श्रुति हमालले गत भदौ ५ गते पूर्वप्रेमी सोनु अन्सारीलाई राँझामा भेट्न बोलाइन् । अन्सारी पुगेलगत्तै उनले होटलको कोठामा पुर्‍याइन् । ‘लगत्तै दुई प्रहरीले कोठामा छापा मारे । बलात्कार गर्न खोजेको भन्दै अन्सारीलाई कुटपिट गरे,’ इलाका प्रहरी कोहलपुरका प्रमुख रमेशबहादुर सिंहले भने, ‘फिल्मी शैलीको घटना सुनियोजित थियो । योजनासाथ उक्त घटना घटाइएको हो ।’

महिलालाई प्रदान गरिएको कानुनी अधिकार दुरुपयोग गरेको आरोपमा अहिले श्रुति प्रहरी हिरासतमा छिन् । उनलाई सहयोग गर्ने संघीय प्रहरी एकाइ कार्यालयका जवान ओमप्रसाद आचार्य र दंगा नियन्त्रण प्रहरी गणका जवान जगदीश बोहरा पनि पक्राउ परेका छन् । कोहलपुर प्रहरीले तीनै जनाविरुद्ध शरीर बन्धक तथा अपहरण मुद्दा दर्ता गरेको छ ।

घटना अनुसन्धान गर्ने भन्दै प्रहरीले गुपचुप राखेको थियो । तर, अनुसन्धानका लागि म्याद थप्न जिल्ला अदालतमा ल्याएपछि सार्वजनिक भयो । प्रहरीले घटना संवेदनशील मान्दै अनुसन्धान थालेको जनायो । प्रेमीलाई प्रलोभनमा पारेर भेट्न बोलाउने र प्रहरी लगाएर पक्राउ गरी बलात्कार मुद्दा लगाउने धम्की दिँदै पैसा असुलेको घटना जिल्लामा पहिलो हो ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);