प्राध्यापकबाटै प्रश्नपत्र आउट | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

प्राध्यापकबाटै प्रश्नपत्र आउट

tu

काठमाडौं, २० भदौ ।-  मंगलबार बिहान ११ बजे हुने भनिएको एमएड प्रथम सेमेस्टर साइकोलोजी विषयको प्रश्नपत्र बिहानैदेखि बजारमा, प्रश्नपत्र लिक भएको प्रमाणित भएपछि त्रिविद्वारा परीक्षा स्थगित

– आइतबार भएको फाउन्डेसन अफ एजुकेसनको परीक्षामा पनि त्यही प्रश्नपत्र आयो, जुन प्राध्यापक होमनाथ भट्टराईले आफ्नो किताबमा नमुना प्रश्नपत्र भनेर छापेका थिए  ।

त्रिभुवन विश्वविद्यालय एमएड फस्र्ट सेमेस्टरका विद्यार्थी मंगलबार बिहान ११ बजे हुने भनिएको साइकोलोजी विषयको परीक्षाका लागि अन्तिम तयारी गरेर परीक्षा केन्द्रतर्फ जाँदै थिए । तर, देशभरका ३८ परीक्षा केन्द्रमा परीक्षार्थी पुग्दानपुग्दै प्रश्नपत्र सामाजिक सञ्जालमा छरपस्ट भइसकेको थियो । त्रिभुवन विश्वविद्यालयले तत्कालै छानबिन गर्यो । परीक्षाका लागि तय भएको प्रश्नपत्र नै सामाजिक सञ्जालमा पुगेको पुष्टि भएपछि परीक्षा स्थगित भयो ।

त्रिवि, शिक्षाशास्त्र संकाय, साइकोलोजी विषय समितिका अध्यक्ष प्रा. होमनाथ भट्टराईले प्रश्नपत्र तयार पारेका हुन् । आफूबाटै प्रश्नपत्र आउट भएको उनले स्विकारेका छन् । ‘प्रश्नपत्र मेरो पेनड्राइभमा थियो, त्यसमा बिएड, एमएडका कोर्सका फाइल पनि थिए, कोर्स दिँदा प्रश्नपत्र गएजस्तो लाग्छ,’ उनले नयाँ पत्रिकासित भने ।

तर, आइतबार भएको फाउन्डेसन अफ एजुकेसनको परीक्षामा पनि प्रा. भट्टराईकै गम्भीर दोष देखिएको छ । फाउन्डेसन अफ एजुकेसनको परीक्षामा पनि त्यही प्रश्नपत्र आयो, जुन प्राध्यापक होमनाथ भट्टराईले आफ्नो किताबमा नमुना प्रश्नपत्र भनेर छापेका थिए ।

आइतबारको परीक्षा रद्द गर्ने विषयमा परीक्षा समितिमा छलफल भए पनि कुनै निर्णय भएको छैन । विषयगत समितिकै अध्यक्षले लेखेको किताबमा नमुना प्रश्नपत्र राख्ने र त्यही प्रश्नपत्र हुबहु परीक्षामा वितरण गर्ने प्रवृत्तिले त्रिभुवन विश्वविद्यालयको साखमा चुनौती दिएको छ ।

विश्वविद्यालयको नियमअनुसार अनियमित गर्ने प्राध्यापकलाई दुई वर्षसम्म उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणलगायतका परीक्षाका सबै काम गर्नबाट वञ्चित गर्ने सक्ने व्यवस्था छ । विभागको जिम्मेवारी पाएका व्यक्तिलाई पदबाट मुक्तसम्म गर्ने सक्ने व्यवस्था छ ।

प्राध्यापक भट्टराई भन्छन्–गल्ती भयो, जिम्मा लिन्छु
प्रा. होमनाथ भट्टराई
प्रश्न बाहिरिएको थाहा पाएँ । मेरो पेनड्राइभबाट बाहिरिएको हो जस्तो लाग्छ । बाहिरिएको थाहा पाएपछि परीक्षामा गएर जानकारी भयो । मेरो पेनड्राइभमा धेरै फाइल थिए । त्यसमा बिएड, एमएडलगायत सबैका कोर्स त्यही पेनड्राइभमा थिए । कोर्स दिँदा प्रश्नपत्र पनि गएछ । म जिम्मेवार भएकाले मैले जिम्मेवारी लिनुपर्यो । १७ गतेको परीक्षाको प्रश्नपत्र पनि यस्तै भएको होला । त्यो पनि ‘ब्लन्डर’ भयो । त्यो पनि पुनः परीक्षा गर्नुप(यो । मैले सबै सूचना परीक्षालाई दिएको छु ।

डिन गौतम भन्छन्–दोषीलाई कारबाही हुन्छ
कृष्ण गौतम, डिन
शिक्षाशास्त्र संकायका डिन प्रा.डा. कृष्णप्रसाद गौतमले दोषी पत्ता लगाइसकेको र कानुनअनुसार कारबाही गर्ने बताए । उनले प्रश्नपत्र बनाउने, मोडरेसन गर्ने एउटै व्यक्ति भएको र उनैबाट बाहिरिएको पत्ता लागेको बताए । परीक्षा समितिको बैठक बसी दोषीलाई कारबाही हुने उनी बताउँछन् । त्रिविका अधिकारीले परीक्षाको सिस्टममा कुनै समस्या नरहेको, तर जिम्मेवार प्राध्यापक नै गैरजिम्मेवार भएका कारण समस्या आएको बताएका छन् । प्राध्यापकको लापरबाहीका कारण हजारौँ विद्यार्थी तनावमा छन् । सो विषयमा ३८ केन्द्रमध्ये दुईवटा काठमाडौं र अन्य ३६ केन्द्र उपत्यकाबाहिर रहेका छन् ।

त्रिविका प्रश्नपत्र पटकपटक आउट
बिबिएस पहिलो वर्षको प्रश्नपत्र गत भदौमा परीक्षाअगावै आउट भएको थियो । विश्वविद्यालयकै जिम्मेवार पदाधिकारीसँग मिलेको गिरोहले बिबिएसको प्रश्नपत्र बजारमा बेचेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंले गिरोहका १४ जना पक्राउ गरेबाटै बुझ्न सकिन्छ– कति ठूलो समूह यसमा सक्रिय थियो । यो समूहले राजधानीका विभिन्न क्याम्पसमा प्रश्नपत्र बेचेको थियो ।
एमबिबिएसको प्रवेश परीक्षाको प्रश्नपत्रसमेत आउट भएका उदाहरण छन् । ०७१ मा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले गराएको प्रवेश परीक्षाको प्रश्नपत्र पनि लाखौँ रुपैयाँमा किनबेच भएको थियो । प्रश्नपत्र बेचेको आरोपमा गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डेसहित ६ जनालाई विशेष अदालतले दोषी ठहर गरेको छ । अदालतले निर्देशक पाण्डेलाई नौ महिना कैद र पाँच लाख जरिवाना सुनाएको थियो ।
भदौ ०६९ मा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले सञ्चालन गरेको स्नातक तहको प्रवेश परीक्षामा पनि प्रश्नपत्र बाहिरिएको थियो । त्रिविको आफ्नै प्रेस छ । साथै, जनक शिक्षा सामग्री केन्द्रमा सेक्युरिटी प्रेस पनि छ । तर, इन्जिनियरिङको प्रवेश परीक्षाको प्रश्नपत्र छाप्न ललितपुरको सानेपास्थित सिग्मा प्रेसलाई दिइएको थियो । त्यहीँबाट प्रश्नपत्र बाहिरिएको थियो । कतिपयले फोटोकपी गरेर र कतिपयले अडियो रेकर्ड गराएर प्रश्नपत्र किनबेच गरेका थिए ।

यसअघि अंग्रेजी केन्द्रीय विभागका प्राध्यापकबाटै प्रश्नपत्र बाहिरिएको थियो । त्रिविका अंग्रेजी केन्द्रीय विभागका प्राध्यापक शरद ठाकुरको गैरजिम्मेवारीपनका कारण प्रश्नपत्र बाहिरिएको थियो । उनलाई सामान्य कारबाही मात्र गरिएको थियो । त्यसपछि उनले मानविकी तथा सामाजिकशास्त्र संकायका सहायक डिन भई लामो समय परीक्षाकै काम गरे । त्यसैगरी ०७१ मा पनि पद्मकन्या केन्द्रबाट व्यवस्थापन विषयको प्रश्नपत्र बाहिरिएको थियो ।

पूर्वाञ्चल विश्वविद्यालयमा पनि प्रश्नपत्र आउट हुँदै आएका छन् । गत मंसिरमा पूर्वाञ्चल विश्वविद्यालयले सञ्चालन गरेको एग्रो मेट्रोलोजी एन्ड क्लाइमेट चेन्ज विषयको परीक्षाको प्रश्नपत्र निजी कलेजलाई पहिले नै बेचिएको थियो । विश्वविद्यालयका पदाधिकारीको यो बदमासीविरुद्ध आक्रोशित मोरङस्थित जिपी कोइराला कलेज अफ एग्रिकल्चरका विद्यार्थीले प्रशासनिक भवन तोडफोड गरेका थिए । उनीहरूले डिनको कुर्सीसमेत आगो लगाइदिएका थिए । प्रश्नपत्र आउट भएको थाहा पाउँदापाउँदै पनि विश्वविद्यालयले छानबिन समितिसमेत नबनाएकोमा विद्यार्थी आन्दोलित भएका थिए । आजको नयाँ पत्रिकामा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);