महेन्द्रनगर, १६ भदौ । कञ्चनपुरको सरस्वती माविको कक्षा ९ मा अध्ययनरत जानकी भट्ट स्कुलमै बेलाबेलामा झस्किन्छिन्। झस्किने मात्र होइन, हिजोआज उनलाई पढाइमा पनि मन गएको छैन।
कक्षाकोठामा प्रवेश गर्नेबित्तिकै निर्मला बस्ने ठाउँमा उनको दृष्टि परिहाल्छ। किनभने निर्मला र जानकी एउटै बेन्चमा बस्थे। ‘३७ दिन भयो, निर्मलाको सम्झनाले सताइरहन्छ। पढ्न मनै लाग्दैन’, जानकीले मलिन अनुहार लगाउँदै भनिन्, ‘निर्मला नहुँदा कक्षा अँधेरो लाग्छ।’ कक्षा २ देखि सँगै पढेकी जानकीलाई मिल्ने साथी निर्मलाको यादले राति निद्रासमेत पर्न छाडेको छ।
‘मेरो साथीको बलात्कारपछि हत्या भएको महिना दिनभन्दा बढी भइसक्यो’, उनले भनिन्, ‘अहिलेसम्म हत्यारालाई पक्राउ गरिएको छैन, हत्यारालाई छिटो पक्राउ गरी हाम्रो साथीले न्याय पाउनुपर्छ।’
कक्षा १ देखि सँगै पढ्न थालेकी पूजा चन्द पनि निर्मलाको बलात्कारपछि हत्या भएको घटनाबाट त्रस्त छिन्। कक्षामा बसेर पढ्दा उनको मस्तिष्कमा बेलाबेला निर्मलाको अनुहार झल्किइरहन्छ। ‘निर्मलासँगै छु कि भन्ने आभास हुने गर्छ। तर एकैछिनमा निराश हुन्छु’, उनले भनिन्, ‘मिलनसार र पढाइमा समेत अब्बल साथी गुमाउदाँ नरमाइलो लागिरहन्छ।’
निर्मलासँग सानैदेखि सँगै पढेकी साथी गीता जोशी पनि हुन्। ‘हत्यारा अहिलेसम्म पक्राउ नपर्दा कतै न्याय नपाइने हो कि भन्ने चिन्ता लागेको छ’, उनले भनिन्। अहिलेसम्म निर्मलाका वास्तविक हत्यारा फेला परेका छैनन्। उनलाई पनि निर्मलाले न्याय नपाउने हुन् कि भन्ने चिन्ता लागिरहेको छ।
घटनापछि बालबालिकामा मनोवैज्ञानिक असर परेको विद्यालयले जनाएको छ। ‘कतिपय बालबालिका स्कुल आउनै मानिरहेका छैनन्, आउने पनि त्रस्त देखिन्छन्’, विद्यालयका प्राचार्य जगन्नाथ पाण्डेयले भने, ‘निर्मलाका हत्यारा पक्राउ नपर्दा झनै बालबालिका मानसिक रूपमा तनावमा परेका हुन्।’ निर्मलाका हत्यारालाई छिटो पक्राउ गरेर कडाभन्दा कडा सजाय हुनुपर्नेमा उनको पनि जोड छ।
निर्मलाको शव भेटिएको निम्बुखेडा खोलानजिकैको उखुबारी क्षेत्र भएर विद्यालय आउजाउ गर्ने बालबालिका स्कुल आउन डराउने गरेको पाण्डेयले बताए। कक्षा ११ मा नयाँ भर्ना हुन आउने विद्यार्थी पनि घटनापछि घटेको उनको भनाइ छ।
यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।




