एजेन्सी, १५ भदौ । बेलायत र नाइजेरियाबीच सुरक्षा र रक्षा सम्झौतामा सहमति भएको छ । सो सम्झौता बेलायतका प्रधानमन्त्री थेरेसाको नाइजेरिया भ्रमणको बेलामा भएको हो ।
नाइजेरियामा बोको हराम चरम पन्थी र इस्लामिक राज्य इराकसँग नजिक रहेको उग्रबादीहरुको गतिविधि नियन्त्रणका लागी सम्झौता भएको बताइएको छ ।
बेलायती प्रधानमन्त्री थेरेसा र नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीबीच बार्ता भएपछि दुबै देशबीच सुरक्षा सम्झौता भएको हो । जस अनुसार चरम पन्थी बोकोहरामको मानवता विरुद्धको कार्य र मानव तस्करी जस्ता साझा सुरक्षाको सवालमा मिलेर काम गर्ने सहमति भएको छ ।
विगत ५ वर्षमा बेलायती प्रधानमन्त्रीको यो पहिलो नाइजेरिया भ्रमण हो । रक्षा सहायता अन्तर्गत नाइजेरियाली सेनाका लागि बेलायतले प्रशिक्षण सहित उपकरण उपलब्ध गराउने छ ।
चरमपंथी बोको हरामले ठुलो परिमाणमा अपहरण, तथा युवायुवतिहरुलाई आत्मघाति आक्रमणकारीको रुपमा प्रयोग गर्दै आएकोमा त्यसलाई रोक्न नाइजेरिया सरकारलाई बेलायतले सहयोग गर्ने भएको छ ।
नाइजेरिया सरकारले चरमपंथी बोको हरामको गतिविधि नियन्त्रण गर्न नसक्दा सर्वसाधारण मारमा परेका छन् । कतिपय सर्वसाधारण जनता बोको हरामको मानवता विरुद्धको गतिविधिबाट सार्वजनिक स्थानमा हिड्डुल गर्न पनि डराएका छन् । चरमपंथी बोको हरामले निर्दोष र निहत्था नागरिकलाई अपहरण गरी फिरौती समेत असुल गर्दै आएको छ।