३ दिन सार्वजनिक सवारी साधनमा जोर विजोर नम्बर प्रणाली लागू :
काठमाडौं, ११ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बगांल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनका लागि सरकारले सुरक्षा व्यवस्था व्यवस्थित बनाएको जनाएको छ ।
भदौ १४ र १५ गते काठमाडौंमा हुने सम्मेलन स्थल, सम्मेलनमा आउने राष्ट्र प्रमुख तथा प्रतिनिधिहरू बस्ने होटल र उनीहरूको आवजावत हुने क्षेत्रको सुरक्षामा सरकारले सबै सुरक्षा संयन्त्र परिचालन गर्दै छ ।
बिमस्टेकका लागि नेपाल आउने अति विशिष्ट पाहुनाहरुको सुरक्षार्थ बनाइएको सुरक्षा प्रणाली अनुसार ४ वटै सुरक्षा निकायलाई तैनाथ गरिने गृह मन्त्रालको तयारी रहेको छ ।
भिभिआइपीको सुरक्षामा आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन हुने भएकोले कति संख्यामा सुरक्षाकर्मी खटिन्छन् भन्ने संख्यामा भन्न नसकिने गृहको भनाइ छ ।
सुरक्षा व्यवस्थामा कत्ति पनि सम्झौता नगरिएको गृहमन्त्रालयले जनाएको छ । सोमबारबाटै सडकमा सुरक्षाकर्मीहरुको उपस्थीति बाक्लो भइसकेको छ । सुरक्षामा ५ हजार नेपाल आर्मीसँगै नेपाल प्रहरीका झण्डै १० हजार, सशस्त्र प्रहरीका २ हजार ५ सय र राष्ट्रिय अनुसन्धान विभागका करिब ५ सय कर्मचारी गरी १८ हजार भन्दा बढि सुरक्षाकर्मी सम्मेलन अवधिभर पाहुनाहरुको सुरक्षार्थ खटाइएको छ ।
गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा यातायात सुरक्षा तथा परिवहन समिति बनाइएको छ । त्यही समिति अन्तर्गत सुरक्षाको चाँजोपाँजो मिलाइएको छ ।
सवै भिभिआइपीहरुका लागि चार घेराको सुरक्षा प्रणाली अपनाइएको छ । जसमा सादा पोषाकका प्रहरी, नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका कर्मचारीको सुरक्षा संरचना रहने छ । विमानस्थल अवतरण लगत्तै यस्तो सुरक्षा व्यवस्था भ्रमण अवधीभर रहनेछ ।
३ दिन सार्वजनिक सवारी साधनमा जोर विजोर नम्बर प्रणाली लागु
सुरक्षा रणनिति अनुसार सुरक्षा आवश्यक्ता महसुस भए संरचनाहरु थपिने र फेरबदल हुनेछन । साँघुरो सडकका कारण राजधानीमा नेपाल सहित ७ देशका भिभिआइपीहरु हुइकिदा सडक अस्तव्यस्त हुने भएकाले ३ दिन सार्वजनिक सवारी साधन गुड्न जोर विजोर नम्बर प्रणाली लागु गरिएको छ । यसले भिभिआइपीको सवारी हुँदा ट्राफीक व्यवस्थापनमा सहज हुने ट्राफीक प्रहरीको भनाई छ ।
सन् २०१४ मा म्यानमारमा भएको तेस्रो सम्मेलन पछि बिमिस्टेकको अध्यक्षता नेपालले गर्दै आएको छ । चौथो शिखर सम्मेलनको राजनीतिक मुद्दा त छँदैछ, त्यसबाहेक पुर्ण सुरक्षासहित भिभिआइपीहरुको नेपाल भ्रमण सफल बनाउन एक चुनौतीपुर्ण कार्य हो ।
बिना कुनै त्रुटी भिभिआइपीहरुको सुरक्षा सफल बनाउनु राज्यको मुल जिम्मेवारीपनि हो । जसका लागि सरकार निक्कै जोड बलले लागेको छ ।




