काठमाडौँ — तरकारीको मूल्य होलसेलमै ठाउँपिच्छे फरक भेटिएको छ । तरकारी उत्पादन र उपत्यका भित्रिने स्रोत एउटै भए पनि फरक–फरक मूल्य राखेर बेच्ने गरिएको छ ।
धादिङ, चितवन, मकवानपुर, काभ्रेलगायत जिल्लाबाट भित्रिने तरकारी कालिमाटी, बल्खु, मनोहरा, चाबहिल, टुकुचा र बालाजु होलसेलबाट अन्य क्षेत्रमा बिक्री हुन्छ । होलसेलमा मूल्य फरक हुँदा खुद्रा व्यवसायीले पनि त्यसैअनुसार असुल्दै आएका छन् ।
कालिमाटी बजारमा बिहीबार प्रतिढक (५ किलो) ४ सय रुपैयाँमा बिक्री भएको काउली बल्खु, मनोहरा र बालाजुमा ४ सय ५० तथा टुकुचामा ५ सय रुपैयाँमा बेचियो । कालिमाटीमा २ सय रुपैयाँ ढक बिक्री भएको भिन्डी बल्खु र मनोहरामा २ सय ५०, टुकुचामा ३ सय र बालाजुमा ४ सय ५० रुपैयाँमा बेचियो । व्यवसायीका अनुसार यो मूल्य दिउँसो १२ बजेपछिको हो । बिहान यसभन्दा प्रतिढक ५० रुपैयाँ महँगो थियो ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालिमाटी तरकारी बजार अनुगमन गरे पनि उपत्यकाका अन्य तरकारीका होलसेल बजार अनुगमन गरेको छैन ।
कृषि उत्पादन र कृषि क्षेत्रको नियामक निकाय कृषि मन्त्रालय र विभाग हुन् । तर, यी निकायले प्रभावकारी रूपमा अनुगमन र नियन्त्रण गर्न सकेका छैनन् । मूल्यका सन्दर्भमा उद्योग वाणिज्य मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि हेर्छ । विभागका महानिर्देशक योगेन्द्र गौचन प्रतिवेदन आएपछि तत्काल अनुगमन सुरु गर्ने बताउँछन् ।
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।