संविधान धर्मशास्त्र होइन, संशोधन हुन्छ : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

संविधान धर्मशास्त्र होइन, संशोधन हुन्छ : प्रधानमन्त्री

kp oli 2

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान धर्मशास्त्र नभएकाले आवश्यकताअनुसार संशोधन हुने बताएका छन् । आफूले कहिल्यै संविधान संशोधनविरुद्ध नबोलेको उनले दाबी गरे ।

प्रधानमन्त्री ओलीले शनिबार प्रदेश सभालाई सम्बोधन गर्दै आफ्ना बारे अफवाह फैलाइएको बताए । ‘संविधान संशोधन हुँदैन भनेर मैले कहिल्यै भनेको छैन, यो अफवाह हो,’ ओलीले भने, ‘म ५० वर्षदेखि सक्रिय रूपमा राजनीतिमा लागेको व्यक्ति संविधान, कानुन, विधान परिर्वतन हुँदैन कसरी भन्न सक्छु संविधान कुनै धर्मशास्त्र होइन, दस्तावेज हो, देश र जनताको हितका लागि परिर्वतन गर्न सकिन्छ ।’

उनले प्रदेश २ को विकासका लागि आफूले विशेष जोड दिने बताए । प्रदेशको कृषि र उद्योगलाई मात्रै व्यवस्थित गर्न सके समृद्धि हासिल हुने उनले बताए । ‘तपाईंहरू प्रदेशलाई समृद्ध बनाउने योजना ल्याउनुस्,’ प्रधानमन्त्री ओलीले भने, ‘प्रदेश सरकारले स्पष्ट योजना बनाएर दिए संघीय सरकार सहयोग गर्न तयार छ ।’

ओलीले देशमा २१ प्रतिशत गरिबीको रेखामुनि रहे पनि प्रदेश २ मा भने यो संख्या अझै ४२ प्रतिशत रहेको बताए । मुलुकका २६ प्रतिशत जनताको शौचालयमा पहुँच भए पनि प्रदेश २ का ७४ प्रतिशत जनताको घरमा शौचालय नभएको उनले जानकारी दिए । ओलीले भने, ‘यो लाजमर्दो अवस्था कसरी आयो यी विषयमा चिन्ता गर्नुपर्ने समय यही हो ।’

राजपाको दोहोरो चरित्र
प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विशेष सम्बोधन राजपाका तीन सांसदले बहिष्कार गरे । राजपा संसदीय दलका नेता तथा प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले पनि प्रधानमन्त्रीको सम्बोधन बहिष्कार नगर्न निर्देशन दिए पनि उनीहरूले अटेर गरे ।

राजपा सांसद उपेन्द्र महतो, गौरीनारायण साह र बिक्की यादवले सम्बोधन बहिष्कार गरेका थिए । उनीहरूले बहिष्कार गर्ने थाहा पाएपछि प्रधानमन्त्री ओलीले उपेन्द्र महतोलाई सभामुख कार्यकक्षमा बोलाएर छलफल गरेका थिए । तर, संविधान संशोधन नभएको र राजपाका नेताहरूमाथि लागेको राजनीतिक मुद्दा फिर्ता नभएको अवस्थामा प्रधानमन्त्री ओलीको विशेष सम्बोधनको कुनै औचित्य नभएको उनीहरूले जवाफ दिएका थिए ।

यसअघि संसदीय दलका नेता सोनलले पनि प्रधानमन्त्रीको भाषण बहिष्कार नगर्न भनेका थिए । उनले भाषण सुन्न नचाहने सांसदले प्रदेश सभामा नआउन आग्रह गरेको एक सांसदले बताए । राजपाका दुई मन्त्री जितेन्द्र सोनल, रामनरेश रायसहित केही सांसद मात्र प्रदेश सभामा उपस्थित थिए । समाजिक विकासमन्त्री नवलकिशोर साह, राज्यमन्त्रीहरू डिम्पल झा, सुरेश मण्डल, अभिराम शर्मा, राजपा सचेतक परमेश्वर साहलगायत बैठकमा सहभागी भएनन् ।

पुरानै जुत्ता लगाउन सहज
जति मूल्यको खरिद गर्नुस्, नयाँ जुत्ता सुरुमा अलि फिट नभएजस्तो लाग्छ । तर, पुरानो जस्तोसुकै भए पनि लगाउन सहज हुन्छ । संविधान संशोधन हुँदैन भनेर कहिल्यै भनेको छैन । यो अफवाह हो । म ५० वर्षदेखि सक्रिय रूपमा राजनीतिमा लागेको व्यक्ति संविधान, कानुन, विधान परिवर्तन हुँदैन कसरी भन्न सक्छु । आजको नयाँ पत्रिकामा खवर छापिएको छ ।