काठमाडौं, ३० साउन । निर्माण व्यवसायीहरुले भदौ १ गतेबाट लागू हुने भनिएको मुलुकी अपराध (संहिता) ऐन तत्काल संशोधन गर्न सरकारसँग माग गरेका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मुलुकी अपराध (संहिता) ऐन तत्काल संशोधन गर्न सरकारसँग माग गरेको हो । महासंघका महासचिव रामशरण देउजाले सो ऐन संशोधन नभई लागू गरिए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए ।
काममा गुणस्तर नभए निर्माण व्यवसायीलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएकोमा महासंघको आपत्ति छ । महासचिव देउजाले व्यवसायीहरुलाई पेशाबाटै पलायन हुनेगरी ल्याइएको मुलुकी अपराध (संहिता) ऐन संशोधन गरेर मात्रै लागू गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए । सरकारले आगामी भदौं १ गतेदेखि मुलुकी ऐन प्रतिस्थापनका लागि सो ऐनसहित ५ वटा ऐन एकसाथ लागू गर्दैछ ।
महासंघले दिउँसोको समयमा ट्रिपर चलाउन नदिने सरकारको निर्णयप्रति पनि कडा आपत्ति जनाएको छ । निर्माण सामग्री आपूर्ति गर्न कठिनाई हुने भएकाले सो समस्या समाधान गर्न पनि ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण गरिएको महासचिव देउजाले बताए । सरकारले एक पक्षीय ढंगले आफूहरुलाई मारमा पार्ने खालको विभिन्न निर्णय लिएको निर्माण व्यवसायीहरुको आरोप छ ।