काठमाडौं, ३० साउन । सरकारले सबै स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गर्ने भएको छ । बुधबारको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रोजगारीको अवसर सृजना हुनेगरी ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए ।
मन्त्री विष्टले रोजगारीको हकलाई मौलिक हकको रुपमा प्रत्याभूति गराउन रोजगार सम्बन्धि ऐन पनि छिट्टै संशोधन गर्ने तयारी भएको बताए । उनले चालू आर्थिक वर्षभित्र कम्तीमा १ लाख रोजगारीको अवसर सृजना गर्ने दाबीसमेत गरे ।
मन्त्री विष्टले घरेलु कामदारलाई पनि संचय कोषको व्यवस्था हुने गरी पञ्जीकरणको काम सुरु गर्ने घोषणा गरे । बैंकमार्फत सबै श्रमिकहरुको पारिश्रमिक भुक्तानी गर्ने व्यवस्थालाई सरकारले कडाईका साथ लागू गर्ने उनले स्पष्ट पारे ।
बैठकमा समितिका सदस्यहरुले रोजगारीको अवसर सृजना गर्नका लागि आवश्यक लगानीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । समितिका सदस्यहरुले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन पनि सरकारलाई प्रभावकारी कदम चाल्न आग्रह गरेका थिए ।