काठमाडौं, २३ साउन । राष्ट्रिय सभाका सदस्य चक्रप्रसाद स्नेहीले डडेलधुरामा हलिया मुक्त पुन:स्थापना कार्यक्रम अन्र्तगत सरकारले हलियाका लागि उपलब्ध गराएको रकममा भ्रष्टाचार भएको भन्दै दोषिलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय सभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सदस्य स्नेहीले डडेलधुरा मालपोत कार्यालयका सहायक दान बहादुर बिक, लेखापाल दिलबहादुर ऐर र मुक्त हलियाका जिल्ला अध्यक्ष तुलाराम सार्कीले हलिया पुर्नस्थापना कार्यक्रम अन्र्तगत हलियालाई उपलब्ध गराईएको रकमबाट प्रतिव्यक्ति २० हजारका दरले ३ करोड ३८ लाख रुपैयाँ घुस लिएको प्रमाणित भईसकेको भन्दै कडा कारवाहीका लागि सरकारको ध्यानाकर्षण गराए ।
घुस लिएको प्रमाणित भएपछि केही रकम उनीहरुले फिर्ता गरेको र त्यही बहानामा छुट दिने काम नहोस् भनी उनले सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले घुस लिने काममा संलग्न सबैलाई कडा कारवाही गर्न माग गरे ।
डडेलधुरामा १ हजार ५ सय ५८ जना हलिया पुनस्थापित भईसकेका छन् भने २ हजार ५ सय ५१ जना हलिया सरकारको हलिया पुर्नस्थापित कार्यक्रम अन्तर्गत सेवा लिने क्रममा छन् ।
हलिया पुर्नस्थापित कार्यक्रम अन्तर्गत सरकारले घर निर्माणका लागि ३ लाख २५ हजार, मर्मतका लागि १ लाख २५ हजार र जमिन खरिदका लागि २ लाख रुपैयाँ जिल्ला मालपोत कार्यालय मार्फत उपलब्ध गराउँदै आएको छ ।
सरकारले सरकारी निकायमार्फत नै उपलब्ध गराएको रकममा भ्रष्टाचार र घुसखोरी हुनु दुखद भएको भन्दै उनले दोषिमाथि कारवाही गरि पीडितलाई न्याय दिन सरकारसंग माग गरे ।