फूलमाया आले
काठमाडौं, १७ साउन । ऐतिहासीक रानीपोखरी पुननिर्माणको विषयमा पुनः विवाद देखिएको छ । लामो विवाद पछि पुरानै शैलीमा रानीपोखरी बनाउने निर्णय भए पनि निर्माणको जिम्मा नेपाली सेनालाई दिने तयारी गरिएसँगै विवाद बढेको हो ।
विक्रम संवत २०७२ सालको विनासकारी भूकम्पले क्षति पुर्याएको रानीपोखरी पुनर्निर्माणमा आधुनिक निर्माण सामग्री प्रयोग गर्दा विवाद भएपछि लामो समयसम्म निर्माण कार्य अलपत्र पर्यो । काठमाडौं महानगरपालिकाका मेयर र उपमेयर नै रानीपोखरीमा ताला लगाउन र खोल्न पुगे ।
अन्ततः विज्ञ समुह गठन गरी मल्ल कालिनशैलीमै रानीपोखरी निर्माण गर्ने निर्णयमा पुगियो । र निर्माणका लागि प्रयोग भएका कंक्रिट पनि हटाउन सुरु गरियो । तर, अहिले फेरि रानी पोखरी कसले बनाउने भन्ने विवाद देखिएको छ । पुननिर्माणको जिम्मा नेपाली सेनालाई दिने तयारी गरेपछि उपमेयर हरिप्रभा खड्गीले असन्तुष्टी व्यक्त गरेकी छन् ।
गत साता रक्षामन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री, काठमाडौँ महानगरपालिका मेयर विद्या सुन्दर शाक्य, पुरातत्व विभाग र नेपाली सेनाका प्रतिनिधिबीच रानिपोखरी पुनर्निर्माणको जिम्मा सेनालाई दिने समझदारी भएको थियो । तर, उपमेयर खड्गी भने कुनै पनि हालतमा सेनालाई ऐतिहासिक महत्वको रानीपोखरी बनाउन दिन नहुने पक्षमा उभिएकी छन् ।
यो सँगै रानीपोखरी पुनर्निर्माणको काम अझै लम्बिने देखिएको छ । रानीपोखरी पुननिर्माणका नाममा करडौं रकम खर्च भइसकेको छ । उपलब्धि भने शुन्य नै छ । पोखरी अहिले घाँसै मैदानमा परिणत भएको छ । विवादमा रुमलिँदा पुनर्निर्माण अनिश्चित बनेको छ ।
मेयर र उपमेयरको विवादले काठमाडौंको केन्द्रमा रहेको ऐतिहासिक रानीपोखरी भूकम्प गएको ३ बर्ष वितिसक्दासमेत पुुनर्निर्माण हुन नसक्दा जनप्रतिनिधिको कार्यक्षमतामासमेत प्रश्न उठेको छ ।