चितवन, १६ साउन । नेपालमा धुलो दूध उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको चितवन मिल्क लिमिटेड पुनः सञ्चालनमा आउने भएको छ ।
एक अर्बभन्दा बढी लगानीमा २०६६ सालमा भरतपुर महानगरपालिका –१ ठिमुरामा स्थापित भएको मिल्क लिमिटेड पुनः सञ्चालनमा आउने भएको हो । चितवन मिल्क लिमिटेड उद्योग २०७२ सालको भूकम्पपछि पूर्णरुपमा बन्द भएको थियो ।
उद्योगका अध्यक्ष राजुबाबु श्रेष्ठले गत पुस महिनाबाट निजी डेरीको बचेको दूध प्रशोधन गर्दै आइरहेको र आगामी असोजबाट उद्योग नियमित रुपमा सञ्चालन गर्ने बताए ।
अब उद्योगले दूधको धुलो उत्पादनसँगै आफ्ना अन्य उत्पादन घ्यू, दही, पनिर र पोका दूध पनि उत्पादन बढाउँदै लैजाने भएको छ । दैनिक १ लाख ५० हजार लिटर दूधको धुलो बनाउने क्षमता उद्योगसँग छ ।