एजेन्सी, १३ साउन । अमेरिकाको उत्तरी क्यालिफोर्नियाको जंगलमा भिषणा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ ।
आगलागीपछि १७ जना सम्पर्क विहीन भएका छन् । आगलागीको चपेटामा परेर दशौं हजार व्यक्ति विस्थापित भएका छन् । आगोमा जलेर ७० वर्षीया महिला, दुई बालबालिका र दुई अग्नि नियन्त्रकको मृत्यु भएको बीबीसीले जनाएको छ । आगलागीबाट कम्तिमा पाँच सय भवनमा क्षति पुगेको र हजारौं घरहरु जलेर नष्ट हुने खतरा रहेको जनाइएको छ ।
आगो एक सय ९४ वर्ग किलोमिटरसम्म फैलिएको छ जुन सान फ्रान्सिस्को क्षेत्रफलभन्दा धेरै हो । कार फायर नाम दिइएको डढेलो नियन्त्रणका सबै प्रयासहरु असफल भैरहेको बीबीसीले जनाएको छ । तिब्र गतिमा चलेको हावाहुरीका कारण आगोका लप्काहरू आँधीजस्तो फैलिएको बताइएको छ । शास्टा क्षेत्रमा फैलिएको आगोलाई उच्च वेगको हावाले आँधीको स्वरूप दिएको छ । आगलागी नियन्त्रणका लागि अग्निनियन्त्रकहरू अनवरत खटिरहेका भएपनि आगोको प्रभाव नियन्त्रणमा ल्याउन सकिएको छैन ।
विपद्को सामना गर्न र सचेत रहन अमेरिकी सरकारले नागरिकलाई आह्वान गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षीत स्थानमा रहन नागरिकलाई आग्रह गरेका छन् । उनले डढेलो नियन्त्रणका लागि आवश्यक सबै संयन्त्र परिचालन गर्न निर्देशन समेत दिएका छन् ।