नवलपरासी, १२ साउन । कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिष्ट नेतृत्वको सरकार प्रजातन्त्रवादी हुनै नसक्ने बताएका छन् ।
सभापति देउवाले कम्युनिष्टहरु प्रजातन्त्रवादी हुनै नसक्ने भएकाले संवैधानिक व्यवस्था अनुसार मुलुकलाई अघि बढाउन आफ्नो पार्टीले प्रयास गरिरहेको बताए ।
पार्टी निकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशनको १० आैँ राष्ट्रिय महाधिवेशनलाई नवलपरासीको गैंडाकोटमा शनिबार उद्घाटन गर्दै उनले सरकार आफैंले आन्दोलनको निम्तो दिईरहेको दावी गरे ।
सभापति देउवाले त्रिभुवन विश्व विद्यालय लगायतका विश्व विद्यालयका उपकुलपति र विपी कोइरालाको नाममा स्थापना गरिएका संस्थाहरु हटाइए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए ।
सभापति देउवाले पार्टी भित्रको अन्तरघातका कारण निर्वाचनमा २५ देखि ३० सिटसम्म गुमाउनु परेको उल्लेख गर्दै पार्टी भित्रको एकतालाई बलियो बनाउन लागि पर्न नेता, कार्यकर्तालाई सचेत गराए ।
कार्यक्रममा बोल्दै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला लगायतका नेताहरुले कम्युनिष्ट नेतृत्वको सरकारको अधिनायकवादलाई परास्त गर्न पनि पार्टी नेतृत्व एकतावद्ध भएर अघि बढनुको विकल्प नरहेको धारणा राखे ।