काठमाडौं, १० साउन । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाई सकिएको छ । संसदीय सुनुवाई विशेष समितिको विहीबारको बैठकमा प्रस्तावित प्रधान्यायाधीश जोशीको सुनुवाई गरिएको हो ।
करिव चार घण्टा लामो प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाईको निर्णय भने शुक्रबार बस्ने समितिको बैठकले गर्ने समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए । जोशीविरुद्ध शैक्षिक प्रमाण पत्रसहित ५ वटा उजुरी परेको थियो ।
बैठकमा समितिका सदस्यहरुले अदालतले राजस्व उठाउन नदिने गरी सरकारलाई किन अन्तिम आदेश दिईरहन्छ भनि प्रश्न गरेका छन । समितिका सदस्य सुरेन्द्र पाण्डेले प्रधानन्यायाधीशमाथि नै शैक्षिक योग्यताको प्रमाणपत्र माथि प्रश्न उठ्ने गरेको भन्दै त्यसको निरुपणको योजना पेश गर्न आग्रह गरेका थिए ।
त्यसैगरी प्रस्तावित प्रधानन्यायाधीश जोशीलाई समितिका सदस्य जितेन्द्र देवले अदालतमा हुने भ्रष्टाचार नियन्त्रणका लागि के योजना छ भनि जिज्ञासा राखेका थिए । उनले अदालतमा हुने भ्रष्टाचार स्विकार गर्ने परिस्थितिको निर्माणमा तपाईँको प्रभावकारी भूमिकाको अपेक्षा गरिएको भन्ने जवाफ दिएका थिए ।
समितिका सदस्य राजेन्द्र श्रेष्ठले संघीय ढाँचा अनुसार न्यायपालिकालाई लैजाने सन्दर्भमा स्पष्ट योजना प्रस्तुत गर्न आग्रह गरे । उनले न्यायपालिकाले अझै पनि संघीय न्यायालयको व्यवस्थापन गर्न नसकेकोमा जोशी समक्ष असन्तुष्टि व्यक्त गरे ।
समितिका सदस्यहरुले राजस्व संकलनमा अवरोध पु-याउने गरी सरकारवादी मुद्दालाई हराउने गरेको दावी गर्दै त्यसको अन्त्य गर्न के गर्नुहुन्छ भनि जोशीलाई प्रश्न गरेका थिए । उनीहरुले विचौलियाहरुको प्रवेश गराएर पीडितलाई न्यायबाट बञ्चित गराउने योजनाबारे पनि प्रश्न गरेका थिए ।
समितिका सदस्यहरुले जोशीलाई सार्वजनिक जग्गा व्यक्तिको नाममा गराएको, क्यासिनोबारे विवादास्पद फैसला गरेको विषयमा पनि स्पष्ट पार्न आग्रह गरेका थिए ।