१३ बस्तीका १ सय ३७ घर जोखिममा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

१३ बस्तीका १ सय ३७ घर जोखिममा

risk

ओखलढुंगा, ९ साउन । भूकम्प आएको तीन वर्ष भइसक्यो । तर भूकम्पपछि जोखिममा परेका बस्ती अहिलेसम्म स्थानान्तरण हुन सकेका छैनन् ।

भूकम्पबाट अति प्रभावित ओखलढुंगाका स्थानान्तरण गर्ने घोषणा गरिएका १६ मध्ये अहिलेसम्म तीन बस्ती मात्रै स्थानान्तरण गरिएको छ । तीन बस्तीका ४८ घरधुरी मात्रै सुरक्षित स्थानमा सरेका छन् भने १३ बस्तीका १ सय ३७ घरपरिवार जोखिमयुक्त स्थानमै बस्न बाध्य छन् ।

भूकम्प अतिप्रभावित जिल्ला ओखलढुंगाका चिसंखुगढी गाउँपालिका–७ को मम्खाको डाडाँगाउँ र भदौरेका ३७ घरधुरी, खिजिदेम्वा गाउँपालिका–१ रंगेनीको गैरीगाउँ र मझुवाका ३९ घरधुरी, मोलुङ गाउँपालिका–३ हर्कपुरको केराबारी बजारका १७ घरधुरी र वडा नं–५ प्राप्चाको केउरीनीका ६ घरधुरीलाई जोखिमपूर्ण बस्ती घोषणा गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ओखलढुंगाअन्तर्गत अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका प्रवक्ता सुनिता अधिकारीले जानकारी दिइन् ।

त्यस्तै चम्पादेवी गाउँपालिका–६ फूलबारीका चनौटे, ओम्बोट, डडुवाका १९ घरधुरी, वडा नं ९ बिलन्दुको खानीगाउँ २५ घरधुरी, लिखु गाउँपालिका–६ गाम्नाङटार कार्तिकेका १२ घरधुरी, वडा नं ८ टारकेरावरीको मझुवा, चुनेमझुवा, चनौटे १७ घरधुरी, वडा नं ५ यसमको गैरीबेसीका ३ घरधुरी, वडा नं ९ पोकलीको लेतीका १० घरधुरी जोखियुक्त बस्ती घोषणा गरी स्थानान्तरण गरिने घोषणा गरिएको छ ।

चम्पादेवी गाउँपालिका–९ बिलन्दुको खानीगाउँ २५ मध्ये २३ घरधुरीको स्थानान्तरण गरिएको छ । लिखु गाउँपालिका–८ टारकेरावरीको मझुवा, चुनेमझुवा, चनौटे १७ घरधुरीमध्ये १३, मोलुङ गाउँपालिका–३ हर्कपुरको केराबारी बजारका १७ मध्ये १२ घरधुरी मात्रै सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

चम्पादेवीको खानीगाउँ, लिखुको टारकेरावारी र मोलुङको हर्कपुर गरी तीन वटा बस्तीका ४८ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ओखलढुंगाअन्तर्गत अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार प्रमुख विजयमणि वज्राचार्यले जानकारी दिए । जग्गा किन्न सरकारले प्रतिपरिवार २ लाख रुपैयाँ उपलब्ध गराएको छ । सुरक्षित स्थानमा स्थानान्तरणका लागि जग्गा खरिद गर्न तीन बस्तीका ४८ घरधुरीलाई ९६ लाख रुपैयाँ हस्तान्तरण भएको उनले बताए ।

लिखु–४ यसमका ३ र पकलीका ६ गरी ९ घरधुरी बस्ती स्थानान्तरणको प्रक्रिया थालिएको छ । प्राधिकरण ओखलढुंगाकी प्रवक्ता अधिकारीले यसम र पकलीका ९ घरधुरीको यसै महिनाभित्र स्थानान्तरण गरिने जानकारी दिइन् । ‘यो महिनाभित्रै यी दुई बस्तीको स्थानान्तरण हुन्छ’, उनले भनिन् । अन्य जोखिमपूर्ण बस्तीबाट भने अहिले स्थानान्तरणको लागि कुनै निवेदन नै आएको उनले बताइन् । सबैभन्दा बढी जोखिमयुक्त बस्ती रंगेनीका ३९ परिवारले थातथालो नै छाड्न नमानेको उनको भनाइ छ ।

जोखिमपूर्ण बस्तीमा बस्न नमिल्ने विषयमा उनीहरूलाई सचेत गराउन प्राधिकरणको टिम जाने तयारीमा रहेको उनले जानकारी दिइन् । स्थानीय तहसँग समन्वय गरेर जोखिमयुक्त बस्तीमा सुरक्षित स्थानमा सारिने उनले बताइन् । सरकारी प्रक्रियाका साथ कतिपय स्थानीयले थातथलो छोड्न नचाहँदा बस्ती स्थानान्तरण समस्या भएको प्राविधिक बताउँछन् । आवास पुनःस्थापना तथा पुनर्निर्माण समन्वय मञ्चका जिल्ला प्राविधिक संयोजक इन्जिनियर सागरचन्द्र अधिकारी पीडितले आफू बसिरहेको ठाउँ छोड्न नमानेका कारण बस्ती स्थानान्तरण समस्या आएको बताए ।

‘स्थानान्तरण हुन नसक्नुमा धेरै कारण छन्, एक त स्थानीय बासिन्दा नै थातथलो छोड्न चाहँदैनन्’, इन्जिनियर अधिकारी भन्छन्, ‘वर्षौंदेखि बस्दै आएको ठाउँ छाड्न उनीहरूलाई गाह्रो मान्छन्, सरकारी प्रक्रिया पनि झन्झटिलो छ ।’ विकट भौतिक अवस्थाले समेत समस्या भइरहेको उनले बताए । अधिकांश जोखिमयुक्त बस्ती अति विकट स्थानमा छन् । त्यहाँ सरकारी संयन्त्रलाई पुग्नसमेत हम्मेहम्मे छ ।

भूकम्पबाट ओखलढुंगामा २१ हजार १ सय २२ घर पूण रूपमा भत्किएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ओखलढुंगाअन्तर्गतको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जानकारी दिएको छ । यसमा १९ हजार ९ सय ७५ लाभग्राहीले अनुदान सम्झौता गरेका छन् । त्यसमध्ये १९ हजार ४ सय ५ ले पहिलो किस्ता पाएका छन् भने १६ हजार ८ सय ५५ ले दोस्रो किस्ता लिएका छन् । त्यस्तै १० हजार ४ सय ८६ ले तेस्रो किस्ता पाएका छन् । १६ हजार ९६६ को घर निर्माणाधीन अवस्थामा छन् । अहिलेसम्म ओखलढुंगामा ९ हजार ७ सय ५६ घरको निर्माण सकेका छन् ।

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत सरकारले भूकम्पपीडितलाई ३ लाख रकम वितरण गर्ने गरेको छ । पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा १ लाख ५० हजार र तेस्रो किस्ता १ लाख उपलब्ध गराउने व्यवस्था छ । बस्ती स्थानान्तरणको जग्गा किन्न थप २ लाखसमेत अनुदान दिँदै आएको छ । आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);