राज्यको ढुकुटी स्वाहा, दुई दिनमा ३९ अर्ब ७२ करोड खर्च | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

राज्यको ढुकुटी स्वाहा, दुई दिनमा ३९ अर्ब ७२ करोड खर्च

arthamatralaya

काठमाडौं, १ साउन । सरकारले आर्थिक वर्षको अन्तिममा आएर विकासको नाममा राज्यको ढुकुटीको रकम बर्षाको बाढीमा बगाएको छ । वित्तीय अनुशासनको नारा लगाउँदै आएको सरकारले पछिल्लो दुई दिनमा जथाभावीरुपमा ३९ अर्ब ६३ करोड १८ लाख ९१ हजार खर्च गरेको छ ।

श्वेतपत्र सार्वजनिक गर्दादेखि बजेटमाथि सांसद्हरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय अनुशासनको विषय उठाए । अर्थमन्त्री खतिवडाले वित्तीय अनुशासन कायम राख्नु आफ्नो मुख्य प्राथमिकता भएको बताउँदा निर्वाचन क्षेत्रका नाममा १० करोड नपाएको झोकमा सांसदहरु रिसाएपनि आम जनताले खतिवडाको प्रसंशा गरे ।

तर तिनै अर्थमन्त्री खतिवडाले आर्थिक वर्षको अन्तिममा राज्यको ढुकुटीको रकम जथाभावी खर्च हुँदा आँखा चिम्लिए । आर्थिक वर्ष सकिने अन्तिम दुई दिनमा सरकारले ३९ अर्ब ६३ करोड १८ लाख ९१ हजार खर्च गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार असार ३१ गते २७ अर्ब ६२ करोड ६५ लाख २४ हजार तथा ३२ गते १२ अर्ब ९ करोड ५३ लाख ६७ हजार खर्च गरेको हो । दुई दिनमा खर्च गरिएको रकम पुँजीगत बजेटको ११ दशमलव आठ पाँच प्रतिशत हो ।

यहाँ सम्मकी सार्वजनिक विदाका दिन पनि राज्यको ढुकुटीको ठूलो रकम खर्च गरिएको छ । असार ३० गते शनिबारका दिन सरकारी कोषबाट ४ अर्ब १३ करोड २२ लाख ५३ हजार रुपैयाँ झिकिएको छ ।

सरकारी निकाय आर्थिक वर्षको ११ महिनासम्म निदाएर बसेका थिए । ११ महिनाको अवधिमा पुँजीगत बजेट दैनिक ४८ करोड रुपैयाँका दरले ४६ प्रतिशत मात्र खर्च भएको थियो । पुँजीगत बजेटको खर्च निकै सुस्त भएपछि अर्थ मन्त्रालय आफैंले खर्च ७१ दशमलव दुई प्रतिशतमा सीमित हुने संशोधित अनुमान गरेको थियो ।

तर मन्त्रालयले गरेको संशोधित अनुमानभन्दा ८ प्रतिशत बढी अर्थात ७९ दशमलव सात चार प्रतिशत पुँजीगत बजेट खर्च भएको छ । सरकारले विकासका नाममा असारे बाढीमा करिब १ खर्ब बजेट बगाएको छ । विकास निर्माणका काम गर्न वर्षायामलाई अनुपयुक्त मानिन्छ ।

सरकारले बजेटको बाढी लगाए पनि विकास निर्माणका काम अलपत्र छन् । काठमाडौं उपत्यकाभित्रकै सडक रोपाईं गर्ने खेतजस्ता छन् । सरकारले जनताको विकासको चाहना पूरा गर्नभन्दा जथाभावीरुपमा ढुकुटीको रकम सक्नतिर ध्यान दिएको भन्दै विज्ञहरुले चिन्ता गरेका छन् ।

वर्षको अन्तिममा आएर बजेटको बाढी लगाइनुले वित्तीय अनुशासनको भाषण गर्दै आएका अर्थमन्त्री डाक्टर युवराज खतिवडाको भूमिका र नियतमाथि प्रश्न उब्जिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);