काठमाडौं, २९ असार । नेपाल चिकित्सक संघले अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि विशेष पहल गर्न आग्रह गर्दै राष्ट्रिय जनता पार्टीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
संघका पदाधिकारीले शुक्रबार राजपा अध्यक्ष मण्डलका सदस्यलाई भेटी गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको विषयमा अनसन बस्नुपर्ने अवस्थाले चिकित्सकिय पेशाको मर्यादा धरापमा पर्दै गईरहेको अनुभूति भएको भन्दै डाक्टर केसीको जीवनरक्षाको लागि विशेष पहल गर्न आग्रह गरेको हो ।
भेटमा चिकित्सकहरुले चिकित्सा शिक्षा विधेयकको वास्तविक भावना र मर्मलाई तोडमोड गर्ने सरकारको निर्णयले आफुहरुलाई दुखी र आक्रोशित बनाएको बताए ।
डाक्टर केसीको मागमा राजनीतिक दलहरु मौन बस्ने हो भने विधिको शासन धरापमा पर्ने र चिकित्सा शिक्षा क्षेत्रमा अकल्पनिय अवस्था श्रृजना हुने भएकाले विद्यमान समस्याको निराकरण हुनुपर्ने निष्कर्ष संघले निकालेको छ ।
संघले विद्यमान समस्या समाधानका लागि पहल नभएमा मुलुकभर आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प पार्न बाध्य हुने चेतावनी पनि दिएको छ ।
राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राज्यले विनाशर्त वार्ता टोली गठन गरी कुनै पनि अवस्थामा डाक्टर केसीको जीवन रक्षा गर्नुपर्ने बताए । उनले डाक्टर केसीको माग सम्बोधन र उनँको जीवनरक्षाका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता पनि जाहेर गरेका छन् । यथास्थितिमा नै चिकित्सा शिक्षा विधेयकलाई संसदबाट पारित गर्नुपर्ने माग गर्दै डाक्टर केसी जुम्लामा अनसनरत छन् ।