काठमाडौं, २९ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढी, पहिरो र डुबानबाट हुने स्वास्थ्य समस्या समाधानका लागि तयारी अवस्थामा रहन मातहतका निकायलाई निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीले बाढी, पहिरो र डुबानबाट रोगको प्रकोप फैलन सक्ने भन्दै तयारी अवस्थामा रहन मातहका सबै निकायलाई निर्देशन दिइएको जानकारी दिए ।
मन्त्रालयले विदामा नबसी बाढि, पहिरो र डुबान पीडितहरुलाई सहयोग गर्न पनि मातहतका कर्मचारीलाई सचेत गराएको छ । सहसचिव बुर्लाकोटीले वर्षात्को यो विषय परिस्थितिमा अस्पताललगायतका अति संवेनदशील क्षेत्रमा बन्द, हडताल जस्ता कुनै पनि गतिविधि नगर्न पनि सचेत गराइएको स्पष्ट पारे ।
स्वास्थ्य मन्त्रालयले विपदमा परेकाहरुलाई राहत दिन जिल्ला, जिल्लामा स्वास्थ्यकर्मी र औषधिको थप व्यवस्था गरिएको पनि जनाएको छ ।
मन्त्रालयले विहिबार मातहतका सबै निकायमा पठाएको परिपत्रमा प्राकृतिक विपदका बेला जनताको सेवामा नजुटने कर्मचारीलाई कार्वाही गर्ने चेतावन पनि दिइएको छ ।