राष्ट्रिय प्रतिभा पुरस्कार पाँच विधाका पाँच स्रष्टालाई प्रदान | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८०, मंगलबार

राष्ट्रिय प्रतिभा पुरस्कार पाँच विधाका पाँच स्रष्टालाई प्रदान

काठमाडौं, २७ असार । सरकारले यस वर्षको राष्ट्रिय प्रतिभा पुरस्कार पाँच विधाका ५ जना स्रष्टालाई प्रदान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले यस वर्षको राष्ट्रिय प्रतिभा पुरस्कारबाट संस्कृति विधाका प्रा. डा. रञ्जना बज्राचार्य, संगीत तथा नाटय विधाका प्रचण्ड मल्ल, ललितकला विधाका ठाकुरप्रसाद मैनाली र भाषा तथा साहित्य विधाका प्रा. डा. केशवप्रसाद उपाध्यायलाई सम्मान गरेको हो ।

बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नगद एक लाखसहितको राष्ट्रिय प्रतिभा पुरस्कारबाट उनीहरुलाई सम्मान गरेका हुन् । त्यसैगरी सरकारले यस वर्षको महाकवि लक्ष्मीप्रसाद देवकोटा राष्ट्रिय पुरस्कार पनि पाँच विधाका पाँच जना स्रष्टालाई प्रदान गरेको छ ।

कविता विधाका कञ्चन पुडासैनी, निबन्ध विधामा तेजराज खतिवडा, भाषा साहित्यमा महेश्वरराय जलेश्वर, बाल साहित्यमा विनय कसजु, आख्यान विधामा प्रा. डा. अभि सुवेदीलाई एक लाख नगदसहित सम्मान गरिएको हो ।

यस वर्षबाट सरकारले सुरु गरेको गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार प्रा. डा. मोहन हिमांशु थापा र नरेश शाक्यलाई प्रदान गरिएको छ । सो पुरस्कारको राशी पनि नगद एक लाख रहेको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले दलितमुक्ति आन्दोलनको क्षेत्रबाट योगदान दिएका पदमलाल विश्वकर्मा, समाज सुधारका क्षेत्रमा योगदान दिएका दलबीर विश्वकर्मा, लेखन तथा अनुसन्धानको क्षेत्रमा योगदान दिएका राजेन्द्र महर्जनलाई पनि एक लाख नगदसहित सम्मान गरिएको छ ।

सम्मान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले सबै भाषा, संस्कृतिलाई एकतावद्ध बनाएर मुलुकलाई अघि बढाउन चाहेको बताए । उनले सरकारले युवालाई प्रोत्साहन र पाकालाई सम्मानको नीति लिएको बताए ।

प्रधानमन्त्री ओलीले २०५१ सालमा आफू पहिलो पटक गृहमन्त्री हुँदा सुरु गरिएको स्रष्टा सम्मान कार्यक्रमलाई विस्तार गर्दै लैजाने अवसर मिलेको भन्दै खुशी व्यक्त गरे ।