सरोज थापा
काठमाडौं, २५ असार । शुसासन र तीब्र आर्थिक विकासको नारा दिएको सरकार स–सना विषयमा अल्मलिएको विष्लेषण सुरु भएको छ । गठन भएको पाँच महिना पुग्नै लाग्दासमेत आर्थिक विकास र सुशासन भन्दा सरकार सानातिना विषयमा प्रतिपक्षसँग निउ खोजेर बसेको विश्लेषकहरुको भनाइ छ । यसले सरकार र प्रतिपक्ष दलबीच थप दुरी बढ्ने संकेत देखिएको छ ।
तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि संसदमा नेकपा एक्लैको स्पष्ट बहुमत छ । त्यसमा पनि संघीयसमाजवादी फोरमपनि सरकारमा सहभागि हुँदा २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा सरकारको १ सय ९० सांसद छन् । यो संख्या दुई तिहाईभन्दा बढी हो । यस अर्थमा पनि सरकारलाई नीतिगत काम गर्न संसदमा कुनै समस्या छैन । र, सरकारको योजना अनुसार काम गर्न सरकारलाई सहज छ । तर, तीब्र आर्थिक विकास र सुशासनको नारा दिएको सरकारले नारा अनुसारको काम गरेको अनुभूति हुन सकेको छैन ।
अहिले चिकित्सा शिक्षा विधेयक, चिकित्सक गोबिन्द केसीको आन्दोलन, अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्ति खारेजी, निषेधित क्षेत्र घोषणा, संस्कृति विश्वविद्यालयका उपकुलपतिको विदेश भ्रमणमा रोक जस्ता विषयमा सरकार र प्रतिपक्षबीच जुहारी चलिरहेको छ । निर्वाचनमा ६३ सिटमा खुम्चिएर संसदमा प्रतिपक्ष दलको भूमिकामासमेत कमजोर देखिएको नेपाली कांग्रेसले यी विषयलाई आफ्नो एजेण्डा बनाएको छ ।
सरकारले दुईतिहाई बहुमतको दम्भमा पेलेर अघि बढ्न खोजेको कांग्रेसको आरोप छ । अंकगणितिय हिसाबमा संसदमा बलियो देखिएको सरकारको पछिल्ला केही निर्णय तथा कार्यशैली पनि आर्थिक विकास र सुशासन भन्दा प्रतिपक्ष दललाई चिढाउने खालको देखिएको छ । तथापी सत्तारुढ दलका नेताहरु प्रतिपक्षसँग मिलेर काम गर्न सरकार तयार रहेको बताइरहेका छन् ।
प्रतिपक्ष दलले सरकार पुँजीपति र माफियाको पक्षमा उभिएको आरोप लागाइरँदा विश्लेषहरु पनि सरकारको कार्यशैली सन्तोशजनक नभएको टिप्पणी गर्छन । सरकारको दम्भले प्रतिपक्षसँगको दुरी अझै बढ्ने राजनीतिक विश्लेषक डाक्टर लोकराज बरालको टिप्पणी छ ।
हुन त चार–पाँच महिनाको कामले सरकारको समग्र मुल्याङ्कन गर्न सकिँदैन । तर, पाँच वर्ष सत्ता सञ्चालन गर्ने म्याण्डेट पाएको सरकार सुरुवाती दिनमै सानातिना कुरामा अल्मलिने हो भने विकास र समृद्धिको लक्ष्य पुरा गर्न चुनौति हुने छ । जनताको विकासको आकंक्षा पुरा गर्न सरकारले प्रतिपक्ष दलसँग सानातिना कुरा जुहारी खेल्नु भन्दा पनि सवै पक्षलाई समेटेर अघि बढ्दा बुद्धिमत्ता हुने छ ।




