बढी बिके ब्राजिल र अर्जेन्टिनाका जर्सी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

बढी बिके ब्राजिल र अर्जेन्टिनाका जर्सी

football jersery

काठमाडौँ, २५ असार । कुन देशको जर्सी किन्ने ’ भक्तपुरको सुकुलढोकास्थित सविता श्रेष्ठ आफ्ना १० वर्षे भाइलाई सोध्दै थिइन् । त्यति बेला रुसमा फुटबलको समूह चरणको भिडन्त रोचक बन्दै थियो ।

राजेशले पहेंलो जर्सी देखाए । त्यसपछि सविताले भाइलाई ब्राजिलको जर्सी किनिदिइन् । जर्सी पाएपछि भाइको मुहारमा एकाएक खुसी भरियो । ‘विश्वकप चलुन्जेल स्कुलबाटै कुन देश मन पर्छ, त्यो देशको जर्सी लगाएर आए हुन्छ भनेको रैछ,’ सविताले भनिन्, ‘साथीहरूले जर्सी लगाएर आएको देखेर भाइले पनि किनिदिन भन्यो । कुन देश भन्ने थाहा छैन, तर साथीहरूको देखासिकी चाहियो भनेपछि किनिदिन लागेको हो ।’

विश्वकप सुरु भएपछि सविताको भाइमा फुटबल क्रेज सँगसँगै जर्सी मोह पनि बढेर गएको हो । म्याच हेरिरहेको बेलामा पनि भाइले सवितालाई फुटबलकै बारे जिज्ञासाहरू सोधेर हैरान पार्छन् रे । उनले भनिन्, ‘विद्यालयले नै खेलप्रति बच्चाहरूलाई उत्सुक बनाउनु राम्रो हो । पहिले घरमा होमवर्क सकिने बित्तिकै टिभीमा कार्टुन हेर्छु भनेर दुस्ख दिन्थ्यो । अहिले फुटबल खेल्छु, भविष्यमा खेलाडी बन्छु भन्छ ।’
अहिले विश्वकपमा सहभागी देशहरूमध्ये आफूलाई मनपर्ने देशको जर्सी लगाउने चलन बढेको छ । कसैलाई कुन देशको समर्थक भनेर सोध्नै पर्दैन । उसले लगाएको जर्सीबाटै कुन देशको समर्थक हो भन्ने थाहा हुन्छ । राजधानीका केही फेसन स्टोरमा गरिएको अध्ययन अनुसार यसपटकको विश्वकपमा छिटै घर फिर्नुपरे पनि अर्जेन्टिना र ब्राजिलको जर्सी नै सबैभन्दा बढी बिके ।

बालकोटकी सरिता बस्नेतको ‘बेबी सप’ मा विश्वकपकै कारण उनले बच्चाहरूको मात्रै नभई युवालाई समेत लक्ष्यित गरी जर्सीहरू राखिन् । उनको बेबी सपबाट पनि अर्जेन्टिना र ब्राजिलकै जर्सीहरू बढी बिक्री भए । ‘अन्य देशको तुलनामा यसपटक धेरैजसो बच्चा र युवाले अर्जेन्टिना र ब्राजिलकै जर्सीहरू लगे,’ उनले भनिन् । उनकोमा अर्जेन्टिना, ब्राजिलपछि जर्मनी, पोर्चुगललगायत देशका जर्सीहरू पनि बिके । विश्वकपमा सहभागी अन्य देशको भने जर्सी उनले राखेकी थिइनन् । ‘मागअनुसार नै जर्सीहरू राख्ने हो,’ उनले भनिन्, ‘अन्य देशको माग नै आएन । त्यसैले ल्याउँदै ल्याइएन ।’ उनले महाबौद्धबाट होलसेलमा जर्सी ल्याएर बेच्छिन् । उनकोमा सात सय पचास रुपैयाँसम्मका जर्सीहरू राखिएका थिए ।

राजधानीमा एडिडासका सोरुमहरू दरबारमार्ग र पाटनमा छन् । एडिडासले जर्मनी र अर्जेन्टिनाका जर्सी उत्पादन गर्ने गर्छ । त्यसो त नेपालमा एडिडासका विक्रेता जितेन्द्र महर्जनले पनि यस वर्ष पहिलेको तुलनामा जर्मनी र अर्जेन्टिनाका जर्सी धेरै बिकेको बताए । तर जर्मनी समूह चरणको खेलबाटै बाहिरियो भने अर्जेन्टिना नकआउट चरणबाट बाहिरिएपछि दुवै देशका जर्सी किन्नेको संख्या एकाएक घट्यो । यस वर्ष रुस, जापान, मेक्सिको लगायतका जर्सीहरू राखे पनि व्यापार धेरै नभएको उनले सुनाए । ‘जुन देशको क्रेज बढी छ, त्यही नै बिक्री हुँदोरहेछ,’ उनले भने, ‘रसियालगायत अन्य नयाँ देशहरूको क्रेज नै छैन भन्दा हुन्छ नेपालमा । त्यसैले बिकाउन गाह्रो छ ।’

धुम्बाराहीको पीपलबोटमा रविना शाक्यले जर्सीको सोरुम एलिट स्पोट्र्स खोलेको चार वर्ष भयो । उनको सोरुममा विश्वकपमा सहभागी प्राय देशका जर्सीहरू पाइन्छन् । वल्र्डकप सुरु हुनुभन्दा पहिले उनको सोरुमबाट जर्मनीको जर्सी धेरै बिकेको थियो । तर जर्मनीले हारेपछि बिक्री ठप्प भयो । यो भन्दा पहिलेको विश्वकप जितेको कारणले पनि यस वर्ष जर्मनीको जर्सी बिकेको हुन सक्ने अनुमान उनले लगाइन् । त्यसपछि अर्जेन्टिना, ब्राजिल, पोर्चुगल, जापानका जर्सीहरू पनि राम्रै गइरहेका थिए । तर ब्राजिल पनि हारेपछि यी देशका पनि जर्सीहरूको बिक्रीमा कमी आएको छ । उनको सोरुममा नाइजेरियाको जर्सी खोज्दै पनि केही दर्शक आएका थिए रे ।

‘मिडियामा नाइजेरियन प्लेयरहरूका बारेमा समाचार आएकाले गर्दा जर्सी खोज्न आएका हुन सक्छन्,’ उनले भनिन्, ‘यसका अलावा अहिले सेमिफाइनल पुगेका क्रोएसिया, फ्रान्स, इङल्यान्ड र बेल्जियमका जर्सी पनि खोज्न थालिएको छ ।’
स्कुले बालबालिकाबाट जर्सीको डिमान्ड थुपै्र आएको उनले बताइन् । कान्तिपुरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);