टेम्पो चालक अभिनेत्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

टेम्पो चालक अभिनेत्री

tempo driver

काठमाडौँ, २४ असार । अभिनेत्रीद्वय स्वस्तिमा खड्का र लक्ष्मी बर्देवा टेम्पोको लाइसेन्स निकाल्ने तरखरमा छन् । शुक्रबार यी दुई ट्रायल दिन सँगै जाने सल्लाह गर्दै थिए । लक्ष्मीसँग ‘के’ वर्ग अर्थात् स्कुटरको लाइसेन्स छँदै छ ।

अब ‘सी’ वर्गका लागि परीक्षा दिन खोज्दै छिन् । फिल्म ‘बुलबुल’ का लागि टेम्पो सिक्दै अभिनेत्री स्वस्तिमा खड्का (बायाँ) र लक्ष्मी बर्देवा (बिचमा) स्वस्तिमाले भने अहिलेसम्म कुनै सवारी चलाएकी छैनन् । तर, उनी अब टेम्पो चालक बन्नुपरेको छ । रियलमा हैन फिल्ममा । ‘छ सात महिनाअघि स्कुटर सिकेको थिएँ,’ स्वस्तिमा भन्छिन्, ‘तर, चलाउन सुरक्षित लागेन । छोडिदिएँ ।’

टेम्पो चलाउनेबारे भने उनले कहिल्यै सोचेकी थिइनन् । फिल्मका लागि अब सिक्नै पर्ने भयो । विनोद पौडेलले निर्देशन गर्न लागेको ‘बुलबुल’ फिल्ममा उनी टेम्पो चालकको भूमिका निर्वाह गर्दै छिन् । यसका लागि उनी पछिल्लो दुई महिनादेखि नियमितजसो टेम्पो कुदाइरहेकी छन् । स्कुटरभन्दा टेम्पो सिक्न सहज लागेको उनको अनुभव छ । ‘यसमा फिजिकल रिस्क कम छ,’ उनले भनिन्, ‘लडिहाले पनि टेम्पो बिग्रिन्छ, आफूलाई केही हुन्न भनेर ढुक्कले चलाउँछु ।’

यसअघि ‘हरि’ फिल्मका लागि कार चलाउन सिकेकी लक्ष्मीलाई पनि टेम्पो सजिलो लागेछ । स्वस्तिमाले धेरै नथिचून् भनेर प्रशिक्षकले एक्सिलेटरको मुन्तिर ढुंगा राखिदिन्छन् । लक्ष्मीलाई त्यस्तो गर्नुपरेको छैन । ‘सजिलै आयो मलाई त,’ उनले भनिन्, ‘पहिला कार सिकेर माइक्रो चलाएको हो ।’ यी दुईले टेम्पो कुदाउँदा सर्वसाधारण भने झुक्किने गरेका छन् । कोही त खाली टेम्पो पाइयो भनेर हत्त न पत्त चढिहाल्छन् । कतिले चाहिँ स्वस्तिमालाई चिनेर आश्चर्य मान्छन् । ‘कुटुमा कुटु’ कै हिरोइन हो कि अरू कोही जिल्ल पर्नेहरू उत्तिकै हुन्छन् ।

शुक्रबार पनि स्वस्तिमा ड्राइभिङ सिटमै थिइन् । पछाडि थिए ओस्कार इन्टरनेसनल फिल्म कलेजका क्याम्पस चिफसमेत रहेका ‘बुलबुल’ निर्देशक पौडेल । उनी खुट्टा खप्टयाएर आरामले सिटमा बसिरहेका थिए । एकजना वयस्क सीधै टेम्पोतिर आएर पौडेललाई ‘के गरी बसेको  खुट्टा सिधा राख्’ भन्दै झर्पान थाले । पौडेल लुरुक्क परेर खुट्टा सिधा गरे । ती व्यक्तिले चालक स्वस्तिमालाई पनि नबुझिने पाराले गाली गरे । र, बर्बराउँदै आफ्नो बाटो लागे । स्वस्तिमा र विनोद एकछिन वाल्ल परे अनि मरुन्जेल हाँसे ।

यस्ता घटना अनेक झेलेको छ टोलीले । ‘यो टेम्पो कतै जाँदैन’ भन्दाभन्दै पनि यात्रु जबरजस्ती चढ्न आएपछि उनीहरूले पछिल्लो समय ढोकामा डोरी बाँध्न थालेका छन् । ठूला गाडीले टेम्पोलाई पेल्ने, चालकलाई जिस्काउने आदि पनि गर्दा रहेछन् । ‘म त गाली गर्दिन्छु,’ लक्ष्मीले भनिन्, ‘टेम्पोको दिदी (असली चालक) ले पनि त्यस्तासँग डराउनु हुन्नँ भन्नुभएको छ ।’ स्वस्तिमालाई भने मुखमुखै नलाग्न भनिएको रहेछ । ‘मलाई चिन्छन् भनेर चुप लाग्नु भन्नुभएको होला,’ उनले भनिन् ।

स्वस्तिमालाई सडक अनुशासन मिच्नेहरू देखेर आजकल खुब रिस उठ्न थालेको छ । चालक मात्र नभएर पैदल यात्रीले समेत ट्राफिक रुल पालना गर्नुपर्ने बताइन् । ‘मनलाग्दी गरेको देख्दा मेरो दिमाग हाइपर हुन्छ,’ उनले भनिन्, ‘म रोडमा निस्किँदा यो कुरामा ध्यान दिन्छु अब, नियम पालना गर्छु ।’ उनले अरूलाई पनि सडक नियम पालना गर्न आग्रह गरेकी छन् ।

साउनबाट छायांकन सुरु गरिने ‘बुलबुल’का लागि स्वस्तिमाले टेम्पो कुदाएको देख्दा युवायुवतीहरू फोटो खिच्न र सेल्फी लिन झुम्मिन्छन् । यी सबै गतिविधिले उनलाई खुसी दिइरहेको छ । भन्छिन्, ‘यो फिल्म मेरा लागि ठूलो अवसर बनेको छ । मेरो पुस्ताका कलाकारले यस किसिमको भूमिका विरलै पाइरहेका छन् । सुरुमा त मैले पत्याएकी थिइनँ । अहिले फिल्मका लागि जे–जस्तो तयारी भइरहेको छ यसले ममा धेरै परिवर्तन ल्याएको महसुस हुन्छ ।’

हरेक बिहान टेम्पो दौडाएपछि स्वस्तिमा र लक्ष्मीसँगै फिल्मका अन्य दुई कलाकार मुकुन भुसाल र उज्वल अधिकारी सुकेधारास्थित ओस्कार कलेज आइपुग्छन् । त्यहाँ पौडेलले उनीहरूलाई शारीरिक एवं मानसिक व्यायाम गराउँछन् । कलेजमै खानपिन गरेर उनीहरू पुन व्यायाम र अन्य गतिविधिमा सरिक हुन्छन् । ‘ऊ यो बोत्तलको पानीजस्तो हुन खोज्दै छौं हामी,’ चोपेन्द्रको मुकुनले भने, ‘हामीलाई सुरुमा साधा पानी बन्नुछ । यसमा कुन रङ हाल्ने, त्यो पछिको कुरा हो ।’

कलाकारलाई शून्यमा पुर्‍याएर आफूले चाहेको आकारमा ढाल्न खोजेको निर्देशक पौडेलको भनाइ थियो । क्यामेरा अगाडि जस्तोसुकै सेलेब्रिटी पनि न्युट्रल अवस्थामा पुग्नुपर्ने बताए । ‘कलाकारमा आफू सेलेब्रिटी भएको अहंकार हुन सक्छ,’ उनले भने, ‘वा, अन्य सोच–विचारले उसलाई विचलित गरेको हुन सक्छ । यो सबै बिर्साएर म कलाकारलाई न्युट्रल पोजिसनमा ल्याउन खोज्दै छु ।’ उनी स्वस्तिमा समूहलाई अनेकथोक गर्न लगाइरहेका छन् ।

यसअघिका फिल्मी–कार्याशालामा स्क्रिप्ट रिडिङ मात्र हुने गरेकोमा यसपालि फरक अनुभव भइरहेको कलाकार लक्ष्मीले बताइन् । हुन त उनले रंगमञ्चमा छँदा एकचोटि यही किसिमको अभ्यास गरेकी रहिछन् । यसपालि धेरै वर्षपछि दोहोर्‍याएको बताइन् । ‘मेरो अभिनयमा के के नपुगिरहेको थियो,’ उनले भनिन्, ‘यो वर्कसपपछि कमजोरी कम होला ।’ स्वस्तिमाले चाहिँ धैर्य र एकाग्र हुन सिकेको बताइन् । कान्तिपुरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);