डा. केसीको मागप्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८२, शनिबार

डा. केसीको मागप्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षण

dr kc

काठमाडौं, २३ असार । नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई बाध्य बनाउने चेतावनी दिएका छन् ।

अध्यक्ष श्रेष्ठले जुम्लामा अनसनरत वरिष्ठ चिकित्सक केसीको मागप्रति संवेदनशील हुन पनि सरकारको ध्यानाकर्षण गराए । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वरिष्ठ चिकित्सक केसीसँग प्रधानमन्त्री केपी शर्मा ओलीदेखि लिएर पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, शेरबहादुर देउवा समेतले गरेका सहमति कार्यान्वयन नहुनुको कारण समेत माग गरे ।

केसी अनशन बसेको ८ दिन बित्दा पनि सरकारका मन्त्रीहरु संवेदनशील बन्नुको सट्टा उच्छृङखल अभिव्यक्ति दिँदै हिँड्ने गरेको अध्यक्ष श्रेष्ठको आरोप छ ।

अध्यक्ष श्रेष्ठले वरिष्ठ चिकित्सक केसीले १५ आैँ पटक अनशन बस्नुपर्ने अवस्था आउनु नै दुःखद् भएको टिप्पणी गरे । संघले वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न सरकारविरुद्ध दवावमूलक कार्यक्रम नै सुरु गरिसकेको छ ।

कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देव गुरुङले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदको प्रक्रियाबाटै अघि बढाउने स्पष्ट पारे । उनले अनशनरत वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरे । प्रमुख सचेतक गुरुङले वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य उपचार गराउन सरकार तयार रहेको जानकारी दिए ।