काठमाडौँ, २३ असार । विभिन्न फुटबल खेलाडीका मुहारचित्र (पोट्रेट) कोरेर फेसबुक र युटयुबतिर राख्दै आएका छन् सनिल चित्रकारले यति बेला उनको चर्चाचाहिँ चुलिएको छ भने, उनका कलाकृति फिफा वल्र्डकपले आफ्नो आधिकारिक फेसबुक पेजमा सेयर गरेको छ ।
उनले तयार पारेको भिडियो ल्याप्समा मेस्सी, ग्रिगम्यान, लुकाकु, जेभियर हर्नान्डेज, हयारी केन, सिन्जी कागावाजस्ता विख्यात खेलाडीका चित्र देखिन्छन् । ४५ सेकेन्डको उक्त भिडियो झन्डै तीन हजार पटक सेयर भएको छ । यसअघि ब्राजिलियन मिडफिल्डर रोनाल्डिन्होले पनि सनिलको पेजमा आफ्नो चित्र देखेपछि त्यसलाई इन्स्टाग्राममा पोस्ट गरेका थिए । उनले क्याप्सनमा सनिललाई धन्यवाद पनि दिएका छन् । चित्र कोर्दै गर्दाको उक्त भिडियोमा ४४ लाख भ्युज छ । ‘अहिलेसम्म सबैभन्दा बढी भ्युज आएको ड्रइङ त्यही हो,’ सनिलले कान्तिपुरसँग भने, ‘रोनाल्डिन्होले सेयर गर्दा धेरै खुसी लागेको थियो । वल्र्ड फेमस खेलाडीसँग मेरो सम्पर्क बढिरहेको छ, योभन्दा ठूलो कुरा के होला । ’
फुटबल क्लब आर्सनलका मेसुट ओजिल, म्यान्चेस्टर युनाइटेडका पल पोग्बा, स्पेनका पूर्व गोलरक्षक आइकर कासिलस लगायतले पनि सनिलले कोरेका आफ्ना चित्रमा रुचि देखाउने गरेका छन् । ती चित्र फेसबुक, इन्स्टाग्राम वा ट्वीटरमा राख्दा उनीहरू लाइक वा फेभरेट गर्न भुल्दैनन् । पेन्सिल स्केचमार्फत खेलाडीको लुक्स उतार्न माहिर सनिल चित्र बनाउँदाको भिडियो खिचेर सामाजिक सञ्जालमा राख्छन् । चित्र र भिडियो दुवैमा प्रतिक्रिया प्रशस्त आउने गरेको छ ।
हाल अमेरिकामा रहेका सनिल पूर्णकालीन व्यावसायिक चित्रकार बनेका छन् । उनलाई फुटबलका ठूलठूला टिम र खेल आयोजकले खेलाडीका चित्र बनाइदिन आग्रह गर्छन् । पछिल्लो पटक जर्मनीको बुन्डासलिगाका लागि उनले खेलाडीको पोट्रेट बनाउने ठेक्का पाए । त्यसपछि बेल्जियमको पत्रिका ‘हेट न्युजब्लाद’ ले आफ्नो खेल परिशिष्टांकका लागि उनलाई सम्पूर्ण खेलाडीको तस्बिर तयार पार्न भन्यो । ‘एक दर्जन खेलाडीको एक–एक पक्ष नियालेर स्केच बनाएको थिएँ,’ सनिलले भाइबरमार्फत कान्तिपुरसँग भने, ‘उनीहरूसँग नजिक भएको आभास भएको छ । अर्जेन्टिना हारेपछि म बेल्जियमको पक्षमा छु अहिले ।’
काठमाडौंको बागबजारका सनिल पहिलेदेखि नै अर्जेन्टिनाका फयान थिए । लियोनल मेस्सी उनका मन पर्ने खेलाडी । कलाकारितामा ‘सनिल आर्टिस्ट’ का नामले परिचित उनले मेस्सीका अनेक भावभंगिमाका चित्र कोरेका छन् । गएको मार्चमा मेस्सीको फेसबुक पेजबाट उनलाई एउटा प्रस्ताव आयो । त्यसमा ‘मेस्सी आर्ट कम्पिटिसन’ बारे जानकारी दिँदै भाग लिन आग्रह गरिएको थियो । सनिलले आग्रह स्वीकार गरे र २५ हजार मतसहित पहिलो पनि भए । त्यसबापत् उनले कोरेको चित्रमा मेस्सीले हस्ताक्षर गरिदिए र नेपालको झन्डासहितको तस्बिर फेसबुक पेजमा राखे ।
‘म यस्तो आर्टिस्ट होउँला, खेलाडीहरूको चित्र बनाएर यहाँसम्म पुगुँला भन्ने सोचेको थिइनँ,’ सिभिल इन्जिनियरिङमा स्नातक गरेका सनिलले सुनाए, ‘यो सबै मेरी छोरी एमीका कारण भएको हो । होइन भने म चुपचाप रेस्टुरेन्ट चलाएर बसिरहेको हुन्थेँ ।’सन् २००६ मा उच्च शिक्षाका लागि जापान पुगेका सनिल दम्पतीले योकोहामामा रेस्टुरेन्ट खोलेका थिए । सन् २०१४ मा छोरी जन्मिएपछि सनिलले दिनभर छोरी रुँग्नुपर्यो, श्रीमती जागिरे । त्यही बेला उनी आफ्नो पुरानो रुचि अर्थात् चित्रकारितातर्फ फर्किए ।
‘छोरी सुतेका बेला म चित्र कोर्थें,’ उनले भने, ‘ती चित्र फेसबुकमा पोस्ट गर्न थालेँ । जसले पनि तारिफ गथ्र्यो । कतिले चाहिँ चित्र भनेर पत्याएनन्, फोटो हो भने । अनि भिडियो नै पोस्ट गर्न थालेँ ।’ तिनमा भ्युज चुलियो र उनलाई चित्र बनाइमाग्नेको संख्या बढ्यो । सेलेब्रिटी खेलाडी, गायकगायिका, कलाकारलगायतका चित्रसँगै उनले अर्डरबमोजिम सर्वसाधारणका तस्बिर पनि बनाउन थाले । पछि त यति व्यस्त भए कि, रेस्टुरेन्ट जानै भ्याएनन् । ‘दुई वर्ष भयो, सबै थोक छोडेर ड्रइङ गरिरहेको छु,’ उनले भने, ‘अझै केही वर्ष मिहिनेत गर्छु । हेरूँ, कहाँसम्म पुगिन्छ ’
पहिले–पहिले एउटा चित्र बनाउन दुईतीन दिनसम्म लाग्नेमा उनी अहिले पाँचदेखि आठ घण्टाभित्र बनाउन सक्ने भएका छन् । कलर पेन्सिलमार्फत पोट्रेट तयार पार्छन् । ट्राइपडमा क्यामरा अडयाएर आफैंले भिडियो खिच्छन्, फुटेज जोडेर टाइम ल्याप्स बनाउँछन् अनि युटयुबमा अपलोड गर्छन् । ‘यसले मेरो प्रचार भइरहेको छ,’ उनले भने, ‘आम्दानी पनि गरिरहेको छु । महिनाको दुई लाखदेखि चार लाखसम्म कमाइ हुन्छ ।’ उनी दिनको कम्तीमा एउटा चित्र बनाउँछन् ।
पोट्रेट बनाउँदाजति आनन्द अन्य विधाका चित्र कोर्दा नहुने उनले बताए । ‘रुख–बिरुवा, हिमाल त जस्तो बनाए पनि हुन्छ,’ उनले भने, ‘पोट्रेटमा मनलाग्दी गर्न पाइँदैन । फेरि, जस्ताको तस्तै उतार्नु पनि भएन । चित्रकारले आफ्नोपन दिन सक्नुपर्छ । म तस्बिर हेरेर पोट्रेट बनाउँदिनँ । मान्छेको लुक्स याद गर्छु अनि उसलाई कुन कोणबाट राम्रो देखिन्छ भन्ने पहिल्याउँछु । अनि, त्यहीअनुसार चित्र कोर्छु ।’ कान्तिपुरबाट