बास्केटबल कूटनीतिमार्फत नजिक हुँदै उत्तर र दक्षिण कोरिया | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बास्केटबल कूटनीतिमार्फत नजिक हुँदै उत्तर र दक्षिण कोरिया

एजेन्सी, २० असार । दक्षिण कोरियाका एकजना उच्च सरकारी अधिकारीले नेतृत्व गरेको बास्केटबल खेलाडीको एक समूह उत्तर कोरिया पुगेको छ ।

हिजो साँझ उत्तर कोरिया पुगेका उनीहरु आज प्योङयाङ पुगेको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।

दक्षिण कोरियाका राष्ट्रिय एकीकरण मन्त्री चो म्योङ गियोनको नेतृत्वमा ५० जना बास्केटबल खेलाडी मंगलबार अपराह्न उत्तर कोरिया प्रस्थान गरेका थिए ।

यसलाई केही सञ्चारमाध्यमले दुई देशबीचको ‘बास्केटबल कूटनीति’ भनी व्याख्या गरेका छन् । ती सञ्चारमाध्यमले दुई देशबीच पछिल्लो समयमा विकास भएको कूटनीतिक सम्बन्धमा यसले थप सुधार ल्याउने बताएका छन् ।

दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार बास्केटबल उत्तर कोरियाली नेता किम जङ–उनको मनपर्ने खेल हो । अहिले आएर उनको लोकप्रिय खेलका खेलाडीले उत्तर कोरियाको भ्रमण गर्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

उत्तर कोरियाली नेता किम जोङ–उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जुन १२ मा सिंगापुरमा भएको वार्तापछि पहिलो पटक दक्षिण कोरियाका उच्च अधिकारीले प्योङयाङ भ्रमण गर्न लागेका हुन् ।

अमेरिका र उत्तर कोरियाबीच यही जुन १२ मा सिंगापुरमा भएको शिखर वार्तापछि अमेरिका र उत्तर कोरिया तथा उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा सुधार आएको बताइन्छ ।

उक्त वार्ता हुनुमा किम निकट मानिएका बास्केटबल खेलाडी डेनिस रडम्यानको भूमिका मुख्य रहेको ठानिन्छ । जुन १२ मा भएको ऐतिहासिक वार्तामा भएका सम्झौताको कार्यान्वयनका बारेमा हाल उत्तर कोरियाले काम गरिरहेको बताइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले यसअघि नै एउटा पारमाणविक उत्पादन केन्द्र भत्काइसकेको र सो कुरा सार्वजनिक पनि भइसकेको बताएका छन् ।

जुन १२ मा सिंगापुरमा भएको वार्ताकै क्रममा पनि उत्तर कोरियाली नेता किमले आफूले शक्तिशाली आणविक केन्द्र भत्काइसकेको जानकारी गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);