काठमाडौं, २० असार । नेपाल कम्युनिष्ट पार्टीको नियमावलीलाई अन्तिम रुप दिनुअघि स्थायी समितिको सुझाव लिइने भएको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले पार्टीको नियमावलीलाई अन्तिम रुप दिनुअघि स्थायी समितिको सुझाव लिने निर्णय गरेको हो । बैठकले स्थायी समिति बैठकको एजेण्डा समेत तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
स्थायी समितिको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो राजनीतिक अवस्था र पार्टीको भावि योजनाका बारे रिपोर्टीङ गर्ने एजेण्डा तय गरिएको हो । यस्तै स्थायी समितिको बैठकमा प्रधानमन्त्रीको केपी ओलीको चीन भ्रमणको समीक्षा, एकीकृत पार्टीका आन्तरिक काम, शिक्षा विद्येयक, नेताहरुको कार्यविभाजन र संसदीय समिति गठन लगायतका विषयमा पनि छलफल गर्ने एजेण्डा तय भएको छ ।