निषेधित क्षेत्र तोक्ने निर्णय तत्काल फिर्ता लिन कांग्रेसको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

निषेधित क्षेत्र तोक्ने निर्णय तत्काल फिर्ता लिन कांग्रेसको माग

nepali congress

काठमाडौं, २० असार । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले काठमाडौंको माईतिघर मण्डलालगायतका स्थानमा निषेधित क्षेत्र तोक्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

सिंहदरबारस्थित कार्यालयमा आज बसेको पार्टी संसदीय दलको बैठकले नागरिकको स्वतन्त्रतापूर्वक विरोध गर्न पाउने अधिकार कुण्ठित नगर्न सरकारसँग आग्रह गरेको छ । बैठकले राष्ट्रिय चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक मान्य नहुने चेतावनीसमेत दिएको छ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकका मूलभूत अवधारणालाई मोडेर ल्याएको भन्दै प्रतिस्थापन विधेयक अस्विकार गरेर जाने निर्णय गरिएको पार्टी संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

बैठकले वरिष्ठ चिकित्सक गोविन्द केसी र गंगामाया अधिकारीको जीवन रक्षाको माग गर्दै उनीहरुले उठाएको मागमा ऐक्यबद्धता जनाउन ३-३ सदस्यीय संसदीय टोली नै गठन गरेको छ । संसदीय टोलीले जुम्ला पुगेर वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य अवस्था बुझ्नेछ । त्यसैगरी छोराको हत्यारालाई कार्बाही गर्न माग गर्दै वीर अस्पतालमा अनसनरत गंगामायाको माग सम्बोधन गर्न पनि सरकारलाई दबाब दिने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलले मूल्यबृद्धि फिर्ता गराउन सरकारविरुद्धको सडक र सदन संघर्षलाई तीव्रता दिने निर्णय पनि गरेको छ । बैठकले संघीय संसद अन्तरगतको संसदीय समितिको नेतृत्व संसदमा रहेको उपस्थितिको आधार तय गर्न माग गरेको छ । करिब २३ प्रतिशत संघीय संसदको दुवै सदनमा आफूहरुको उपस्थिति रहेकाले सोही प्रतिशतको आधारमा सभापतिको भूमिका निर्वाह गर्न पाउने माग पार्टीको रहेको पनि प्रमुख सचेतक खाँडले स्पष्ट पारे ।

संघीय संसद अन्तरगतको प्रतिनिधिसभामा १० र राष्ट्रियसभामा ४ वटा समिति गठन गर्ने व्यवस्था गरिएको छ । कांग्रेसले संसदीय समितिको नेतृत्वका विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को धारणा पनि माग गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);