भाइरलको जोखिम, पत्तै नपाइ जान सक्छ ज्यान | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

भाइरलको जोखिम, पत्तै नपाइ जान सक्छ ज्यान

Viral in nepal

काठमाडौं, १६ असार । सामान्य ज्वरो अनुभव भएपछि दुई दिनअघि मात्र जँचाउन अस्पताल गएका पत्रकार यादव थपलिया एकाएक सघन उपचार कक्ष (आईसियू) मा पुग्ने अवस्था सिर्जना भयो । भाइरल इन्फ्लुएन्जाको संक्रमण पत्तो लागेपछि भेन्टिलेटरमा राखेर सघन उपचारमा जुटेका चिकित्सकले थपलियालाई बचाउन सकेनन् । र, शुक्रबार अपरान्ह पौन तीन बजे उनको निधन भएको खबर बाहिर आयो ।

चिकित्सकहरू भन्छन्– पत्रकार थपलिया मात्र होइन, उनीजस्तै धेरै बिरामीलाई भाइरल इन्फ्लुएन्जाले आकस्मिक रूपमा मृत्युको मुखमा लैजाने गरेको छ । तर भाइरल प्रकोपबारे नेपालका सरकारी र निजी अस्पतालहरूसँग कुनै तथ्यांक छैन ।

भाइरलसँग सम्बन्धित रोगले गर्दा अमेरिकामा बर्सेनी झण्डै ३६ हजार व्यक्तिको ज्यान जाने गरेको तथ्यांक छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘नेपालमा भने यसबारे अध्ययन हुन सकेको छैन ।’

वर्षायामको सुरुवातसँगै भाइरल प्रकोपबाट बालबालिका र ज्येष्ठ नागरिकका साथै श्वासप्रश्वासका बिरामीहरू बढी जोखिममा पर्ने गरेका छन् । चिकित्सकहरूका अनुसार नेपालमा भाइरल इन्फ्लुएन्जा ए र बीको जोखिम बढी छ ।

पश्चिमी देशमा विशेष गरी जाडो समयमा देखा पर्ने भाइरल इन्फ्लुएन्जा नेपालमा भने वर्षायाम र जाडो दुवै समयमा देखिने गरेको छ । कतिपय देशमा भने बाह्रै महिना भाइरल देखा पर्ने गरेको छ । ‘नेपालमा भाइरल इन्फ्लुएन्जा सुरु हुने बेला भइसकेको छ’, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रिसर्च युनिटका संयोजक समेत रहेका डा. पुनले भने, ‘निमोनिया हुनुको मुख्य कारण नै फ्लु हो ।’

श्वासप्रश्वास र छातीसँग सम्बन्धित समस्याका दीर्घ रोगीहरूलाई भाइरल इन्फ्लुएन्जाले बढी जोखिममा पार्ने गरेको छ । भाइरल इन्फ्लुएन्जा ‘ए’अन्तर्गत स्वाइन फ्लु, बर्ड फ्लु र हङकङ फ्लु पर्दछ । अन्य इन्फ्लुएन्जाभन्दा ए र बी नेपालमा बढी देखा परेको डा. पुनले बताए ।

भाइरल इन्फ्लुएन्जाका लक्षणहरू

१. ज्वरो आउने

२. खोकी लाग्ने

३. टाउको तथा घाँटी दुख्ने

४. शरीर दुख्ने

५. बान्ता हुने

६. छातीमा घ्याघ्यार तथा स्वाँस्वाँ हुने

७. पेट दुख्ने

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);