काठमाडाैं, १२ असार । नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘नयाँ राजा’ को संज्ञा दिएका छन् । काँग्रेस नेता रिजालले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा विभिन्न निकायहरुको व्यवस्था गरेर प्रधानमन्त्री ओली ‘नयाँ राजाको अवतार’ को रुपमा देखिएको आरोप लगाए ।
मन्त्रीहरुले कानुन मिचेर जथाभावी गर्ने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न प्रधानमन्त्री ओलीलाई नेता रिजालले सुझाव दिए । गृहमन्त्री रामबहादुर थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी र कानुन मन्त्री शेरबहादुर तामाङले कानुन मिचेर कर्मचारी र सर्वसाधारणलाई समेत आतंकित बनाएको भन्दै उनीहरुलाई नियन्त्रण गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा खर्च कटौतिको प्रस्ताव पेश गर्दै नेता रिजालले गृहमन्त्री थापाले कानुन मिचेर ठेकेदारहरुलाई कार्वाही गर्ने गरेको भन्दै आपत्ति जनाए । मूल्य वृद्धिको विरोध गरेका आफ्ना पार्टीका कार्यकर्तालाई सरकारले दमन गरेको भन्दै नेता रिजालले आक्रोश व्यक्त गरेका छन् ।