अप्सरा लामिछाने
काठमाडौं, ३ असार । बर्खे बाली सुरु भएसँगै रासायनिक मलको चरम अभाव देखिएको छ । सरकारले पर्याप्त बजेट निकासा नगर्दा माग अनुसारको मल खरिद गर्न नसकिएको कृषि विकास कम्पनी लिमिटेडको भनाइ छ ।
नेपालमा बार्षिक करिब ८ लाख मेट्रिकटन रासायनिक मल आवश्यक पर्छ । तर राज्यको अनुदानबाट बार्षिक ३ लाख मेट्रिकटन मात्र मल आपूर्ति भइरहेको छ । माग अनुसारको आयत नहुँदा बर्सेनि मलको अभाव हुने गरेको छ ।
रासायानिक मलको बिक्री वितरणको जिम्मा पाएको कृषि विकास कम्पनी लिमिटेडमा अहिले युरिया मल ५६ हजार मेट्रिकटन र डिएपी मल ९ हजार मेट्रिकटन स्टक छ । २० हजार मेट्रिकटन एक हप्ता भित्र आयात हुने लिमिटेडको दाबी छ।
बर्खे बाली सुरु भएसँगै प्रदेश ५ का जिल्लामा मलको अभाव देखिएको छ । सरकाले अनुदानमा दिने मलको अभाव भएपछि प्रदेश ५ का कृषक रित्तो हात फर्कन बाध्य छन् । मल नपाउँदा धानको ब्याड राख्न र मकै रोप्न समस्या भएको कृषकको भनाइ छ ।
सरकारले आवश्यक मात्रामा मल खरिद नगर्दा बर्सेनि खेतीको समयमा कृषकले अभाव झेल्दै आएका छन् । सरकारले कृषि क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य गर्दै बिउ विजन र मलको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ । तर कृषक भने रासायनिक मल नपाएर भौतारी रहेका छन् ।