आइसल्यान्डले अर्जेन्टिनालाई स्तब्ध पारेमा आश्चर्य मान्नु पर्दैन | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

आइसल्यान्डले अर्जेन्टिनालाई स्तब्ध पारेमा आश्चर्य मान्नु पर्दैन

काठमाडौं, २ असार । विश्वकप फुटबलमा ग्रुप ‘डी’ अन्तर्गत आज नवप्रवेशी आइसल्याण्डले फुटबल शक्ति राष्ट्र अर्जेन्टिनाको सामना गर्दैछ । विश्वकपमा सहभागिमध्ये हालसम्मकै सबभन्दा सानो राष्ट्र आइसल्यान्डले पहिलो खेलमै फुटबल स्टार लियोनल मेस्सीको टोली अर्जेन्टिनाको सामना गर्न लागेको हो ।

रुसको राजधानी मस्कोमा नेपाली समयअनुसार साँझ ६ः४५ मा सुरु हुने खेलमा दुई पटकको विश्वविजेता अर्जेन्टिनालाई पञ्छाउन आइसल्याण्डका लागि कठिन हुनेछ । यद्यपि, पछिल्लो समय आइसल्याण्ड राम्रो लयमा देखिएको छ ।

आजको खेलमा पनि त्यो लयलाई कायम राख्न सके मेस्सीको टिममाथि हाबी हुन सक्ने विश्वास आइल्याण्डका समर्थकको छ । दुई वर्षअघि युरोपियन च्याम्पियनसिपको पहिलो सहभागितामै फुटबलका शक्ति राष्ट्रलाई पाखा लगाएको आइसल्यान्डले अर्जेन्टिनालाई स्तब्ध पारेमा आश्चर्य मान्नुपर्ने छैन ।

अग्ला कद र एयर बल खेल्ने क्षमता भएका खेलाडी आइसल्यान्डसँग छन् । यस्ता खेलाडीको प्रहार अर्जेन्टिनाका गोलकीपर निकोलस ओटामेन्डी र मार्कुस रोहोलाई भारी पर्न सक्छ । घुँडाको चोटका कारण मैदान बाहिर रहेका आइसल्याण्डका मिडफिल्डर गिल्फी सिगुर्डसन गएको हप्ता घानासँगको मैत्रीपूर्ण खेलबाट मैदान फर्किएका छन् ।

आइसल्याण्ड युरोकप २०१६ को टिम अफ द टुर्नामेन्टको रुपमा लिइएको टिम हो । अर्जेन्टिनाको रक्षापंक्तिमा रहेको कमजोरीलाई आइसल्याण्ड हतियार बनाउन चाहान्छ । यता, अर्जेन्टिनाले १७ पटक विश्वकप खेल्दैछ र यो लगातार १२ औँ सहभागिता हो ।

उसले विश्वकपमा समूह चरणमा पछिल्लो पटक भएका १५ मध्ये १२ खेल जितेको छ । यस्तै पछिल्ला तीन विश्वकपमा ऊ हरेक पटक समूह चरणमा आफ्नो समूहको विजेता बन्न सफल छ । अर्जेन्टिनाको अग्रस्थानमा मेस्सी र सर्जियो अग्युरो हुनेछन् ।

सन् २००६ र २०१० को विश्वकपमा क्वार्टरफाइनलबाट अघि बढ्न नसकेको अर्जेन्टिनालाई ब्राजिल विश्वकपमा जर्मनीले फाइनलबाट घर फर्काइदिएको थियो । त्यसो त, सन् २०१५ र २०१६ को कोपा अमेरिका फाइनलमा पेनाल्टी सुटआउटमा पुगेर हार्नुपरेको पीडा पनि अर्जेन्टिनीसँग छ ।

त्यसैले यसपटक अर्जेन्टिना आफ्नो पहिलो खेलमा ऊ फराकिलो जित हात पार्न चाहान्छ । ब्राजिल विश्वकपमा पनि अर्जेन्टिनाले नयाँ टोली बोस्नियाको सामना गर्नुपरेको थियो । त्यतिबेला बोस्नियामाथि अर्जेन्टिनाले २–१ गोलको कठिन जित निकालेको थियो ।

क्लब फुटबलमा सबै किसिमको उपाधिको स्वाद चाखिसकेका मेस्सी एकपटक अन्तर्राष्ट्रिय उपाधिको स्वाद लिन चाहान्छन् । मेस्सी यहि जुन २४ मा ३१ वर्ष पुग्दैछन् । यसको अर्थ यो विश्वकप उनको अन्तिम हुन सक्छ ।

पाँच पटकका विश्व वर्ष खेलाडी मेसीले अहिलेसम्म आफ्नो मुलुकलाई अन्तर्राष्ट्रिय उपाधि जिताउन सकेका छैनन् । सन् १९८६ पछि पहिलो पटक विश्वकप जित्ने अर्जेन्टिनाको सपना पूरा गर्न सक्ने बलियो आधारका रुपमा मेस्सीलाई नै हेरिएको छ ।

अर्जेन्टिना र आइसल्याण्डबीच अहिलेसम्म भेट भएको छैन । आइसल्याण्ड विश्वकपमा पहिलो पटक आएकाले स्वभाविक हो, विश्वकपमा भेट हुने कुरै भएन । त्यसैले आजको खेलमा दुवै टिमका लागि नयाँ अनुभव हुनेछ ।

अर्जेन्टिना विश्वकपको समूह चरणमा युरोपियन प्रतिस्पर्धीसँगका पछिल्ला सात खेलमा एक खेलमा मात्रै पराजित भएको छ । उसले चार खेल जितेको छ भने दुईमा बराबरी खेलेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);