काठमाडौं, २ असार । अरबी पात्रो हिजरी संवतअनुसार दशौं महिनाको पहिलो दिन शनिबार देशभरका मुसलमानले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदै छन् । पर्वका अवसरमा शनिबार बिहान देशभरका मस्जिदमा विशेष नमाज पाठ गरिएको छ ।
शनिबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । खुशीपूर्वक गरीबलाई दान गरिने भएकाले सो पर्वलाई इद उल फित्र भनिएको हो ।
पर्वमा इस्लाम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिनुभयो ।