जोडिँदै मेची–काली | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८३, सोमबार

जोडिँदै मेची–काली

mechi-kali

जनकपुर,  २ असार ।  महोत्तरीको बर्दिवासस्थित सडक कार्यालयको एउटा भवनमा छ, रेल तथा मेट्रो विकास आयोजनाको कार्यालय । कार्यालयको भित्ताभरि अधिग्रहण गरिने जग्गाको सूचना टाँसिएको छ । कोठाको ढोकामाथि मार्करले मोबाइल नम्बर र मुनि कर्मचारीको नाम लेखिएको छ ।

‘फिल्डकै काम बढी भइरहेकाले कार्यालयमा आउने जग्गाधनीलाई सम्पर्क गर्न सजिलो होस् भनेर ढोकामै नाम र नम्बर लेखिदिएका छौं,’ आयोजनाका कर्मचारी कुमार भट्टराईले भने, ‘जग्गा अधिग्रहण र मुआब्जा बाँड्ने काम धमाधम भइरहेको छ ।’

मुलुकलाई जोडेको पूर्वपश्चिम राजमार्गकै समानन्तरमा विद्युतीय रेलमार्गको निर्माण थालिएको छ । ४ वर्षदेखि बर्दिवासबाट पश्चिम ट्रयाक निर्माण थालेको आयोजनाले मेची–महाकाली रेल्वे मार्गका लागि स्टेन्डरगेजको ट्रयाक खोलिरहेको छ । महोत्तरीको बर्दिवासदेखि सर्लाहीको लालबन्दीसम्म २५ किमि रेल्वेको ट्रयाक निर्माण भइसकेको छ ।

मुलुकमै रेलको यात्रालाई ‘सपना’ ठानिए पनि मेची–महाकाली विद्युतीय मार्गको निर्माण तीव्र पारिएको छ । नेपालमा काठ र ढुंगा ओसार्नका लागि न्यारोगेजको दुईवटा रेल सेवा थियो । एउटा, भारतको जयनगरदेखि जनकपुर हुँदै बिजलापुरसम्म । दोस्रो, भीमनगरदेखि कोसी नदीछेउ हुँदै सुनसरीको चतरासम्म रेल गुड्थ्यो । महोत्तरीका बिजलापुरको जंगलबाट काठ र चतरा नजिकको पहाडमा ढुंगा ओसार्न रेल कुदाइएको थियो । भारतमा शासन गरिरहेको तत्कालीन इस्ट–इन्डिया कम्पनीले बनाइदिएको यो दुवै रेलमार्गमा झुन्डिएर यात्रा गर्ने पनि थिए ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।