काठमाडौं, १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी काठमाडौँको अव्यवस्थित शहरीकरणलाई रोक्ने बताएका छन् । अवैज्ञानिक निर्माण कार्य र अव्यवस्थित बसोबासका कारण देशको राजधानी काम नलाग्ने इट्टाको थुप्रोजस्तो भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
नेपाल जग्गा तथा आवास विकास संघद्वारा आयोजित सातौँ प्रोपर्टी एक्स्पो कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौँलाई व्यवस्थित गरिने बताए । ओलीले सरकार र व्यवसायी मिलेर बस्तीलाई रिलोकेट गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा घरजग्गा व्यवसायीहरुले विदेशी नागरिकले सहज रुपमा अपार्टमेन्ट खरिद गर्न पाउने भनिए पनि त्यसको कार्यान्वयन नभएको गुनासो गरे । जग्गा विकासतर्फ कर्जा र सुरक्षाको अनुपात ६० प्रतिशत पुर्याउन पनि उनीहरुले प्रधानमन्त्री ओलीसँग आग्रह गरे ।
राजधानीको भृकुटीमण्डपमा आजबाट सुरु भएको एक्स्पो असार ५ गतेसम्म चल्नेछ । मेलामा स्वदेशी तथा विदेशी प्रदर्शकले आ–आफ्ना सेवा तथा उत्पादन प्रदर्शन गरेका छन् । मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेन्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक र बिक्रेता, इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बिमा कम्पनीहरु सहभागी रहेको आयोजकले जनाएको छ ।
मेलामा विद्युतीय सामान, फर्निचर, पाइप, सेनिटरि वेयर फिटिङ, पेन्टस, सवारी साधन, सजावटका सामान र बिमा, बैंकिङ र वास्तुकलाका पनि स्टल रहेका छन् ।