अत्याधिक गर्मीले तराइको जनजीवन कष्टकर | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

अत्याधिक गर्मीले तराइको जनजीवन कष्टकर

गर्मीका कारण महोत्तरीमा एक महिलाको मृत्यु

सुरेन्द्रकुमार कामती
सिरहा, २९ जेठ । गर्मीले तराई मधेसको जनजीवन कष्टकर भएको छ । अत्याधिक गर्मीले महोत्तरीमा एक महिलाको मृत्यु भएको छ । गर्मीले विद्यार्थीहरु बेहोस हुनुका साथै अस्पतालमा बिरामीको चाप बढेको छ ।

तराई मधेसमा अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित भएको छ । महोत्तरीको गौशाला नगरपालिका–८ बेलगाछीमा गर्मीकै कारण सकिलदेवी सदा मुसहरको मृत्यु भएको छ । विद्यालय गएका बालबालिका गर्मीले बेहोस हुन थालेका छन् । आइतवार सिरहाको चन्द्र माध्यमिक विद्यालयका विद्यार्थी बेहोस भएका थिए ।

विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ । तापक्रम बढेपछि बजार सुनसान हुन थालेको छ । बजार सुनसान भएपछि व्यापार व्यवसाय खस्किएको व्यवसायीहरुको भनाइ छ । चिसो पेय पदार्थ र पंखाको कारोबार भने बढेको छ ।

बालबालिका गर्मी छल्नका लागि नदी तलाउमा पौडी खेल्न जाने गरेका छन् । यातायातमा ओहर दोहर गर्नेको संख्या कम भएको छ । भिडभाड हुने जिल्ला प्रशासन, अदालत, मालपोत, नापी जस्ता सरकारी कार्यालयमा सेवाग्राहीको चाप घटेको छ ।

अहिले तराई मधेसको तापक्रम ४० डिग्री सेल्सिएससम्म पुगेको छ । अत्याधिक तापक्रमका कारण लु लाग्ने खतरा बढेको भन्दै स्थानीय त्रसित भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);