सस्तोमा जग्गा नबेचेको भन्दै अर्धनग्न बनाएर कुटपिट | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

सस्तोमा जग्गा नबेचेको भन्दै अर्धनग्न बनाएर कुटपिट

kutpit

काठमाडौं, २९ जेठ । सस्तोमा जग्गा नबेचेको निहुँमा दाङमा एक महिला निर्घात कुटिएकी छिन् । भालुवाङ पुरानो बसपार्कमा रहेको जग्गा सस्तोमा नबेचेको भन्दै अर्घाखाँचीको शीतगंगा नगरपालिका–९ ठाडो खोलानिवासी दिलमाया पुनलाई अन्य दुई महिलाले कुटेका हुन् । लाखौँ पर्ने घडेरी ५० हजारमा बेच्न दिएको दबाब दिलमायाले अस्विकार गरेपछि रेखा गुप्ता र अनिता गुप्ताले अर्धनग्न बनाउँदै कुटपिटका हुन् । उनीहरूले दिलमायालाई मैदानमा पछारेर लाठी र लात्तीले हान्दै लगाएको कपडासमेत च्यादिदिएका छन् ।

भिडियो सार्वजनिक भएपछि बाहिरियो घटना
दिलमायामाथि रेखा र अनिता शाहले आक्रमण गरेको भिडियो सार्वजनिक भएपछि घटना बाहिरिएको हो । घटना शुक्रबारको भए पनि भिडियो सार्वजनिक भएसँगै सोमबार मात्रै घटनाबारे चर्चा भयो । भिडियोमा हरियो कुर्ता र रातो सुरुवाल लगाएकी दिलमायालाई रेखा र अनिताले निर्मम कुटपिट गरेको देखिन्छ । उक्त भिडियो भालुवाङ बसपार्कको हो ।

दिलमायामाथि आक्रमण गर्ने महिलालाई ‘मम्मी भयो के छाड्दिनुस्’ भनेर आग्रह गरेको भिडियोमा सुनिन्छ । तर, उनी रोकिएकी छैनन् । बरु लात्तीमुंग्रीले मात्रै नपुगेर दिलमायाको कुर्ता च्यातिदिएको देखिन्छ । अर्धनग्न भएकी अनिता च्यातिएको कुर्ताको टालोले लाज छोप्न खोज्छिन्, तर त्यो गर्न पनि दिँदैनन् ।

दबाबपछि बल्ल कारबाही प्रक्रिया
आइतबार भिडियो भाइरल भएपछि र दिलमायाका आफन्तको दबाबपछि दोषीमाथि कारबाही प्रक्रिया अघि बढेको छ । प्रहरीले सामान्य घटनाका रूपमा हेरेको भालुवाङ घटना भिडियो सार्वजनिक भएसँगै तरंगित बन्योे । घटनाको भिडियो भालुवाङ निवासी रितु रानाले आफ्नो फेसबुक वालमा पोस्ट गरेकी थिइन् । सोमबार महिला समूह तथा दिलमायाका आफन्तले प्रहरी कार्यालय घेराउ गरे ।

उनीहरूले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्न प्रहरीलाई दबाब दिए पनि प्रहरीले केही सार्वजनिक अपराधअन्तर्गत मुद्दा दर्ता गरेर घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । दिलमायालाई कुटपिट गर्ने राप्ती गाउँपालिकाकी ३५ वर्षकी रेखा गुप्ता र २९ वर्षकी अनिता गुप्तालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख रवीन्द्रराज पाण्डेले बताए ।

यसरी भयो कुटपिट
३९ वर्षीय दिलमाया पुन आफ्नो घडेरी हेर्न अर्घाखाँचीबाट भालुवाङ पुगेकी थिइन् । अर्घाखाँचीस्थित घर र भालुवाङस्थित खडेरी छिमेकी स्थानीय तहमा पर्छन् । केही समयअघि दिलमायाका सँधियारले जग्गा बेचेका थिए । दिलमायालाई भेटेपछि भालुवाङकी स्थानीय रेखा गुप्ताले ५० हजारमा जग्गा बेच्न भनिन् । तर, दिलमायाले आफ्नो जग्गा बेच्ने योजना नभएको, त्यो पनि लाखौँ पर्ने जग्गा ५० हजारमा दिन नसक्ने जवाफ फर्काइन् ।

दिलमायाको जवाफ सुनेपछि रेखाले थप दबाब दिन थालिन् । रेखाको साथ लागेर बोलिन् अनिता गुप्ता पनि । जग्गा ५० हजारमै जसरी पनि बेच्नुपर्ने दबाब दिइरहे । तर, दिलमायाले टेरिनन् । अनि उनीहरूको आक्रमण सुरु भयो । घडेरीनजिकै रेखा र अनिताले हात हाल्न थालेपछि दिलमाया भागिन् । पुल्चोकतिर दौडिइन् ।

निर्माणाधीन बसपार्कमा पुगेपछि रेखा र अनिताले घेरा हाल्न भ्याए । पछिपछि अरू पनि एक–दुईजना थिए । रेखा र अनिताले दिलमायालाई समाते । झड्कारेर भुइँमा लडाए । थप्पड र लात्ती बर्साउन सुरु गरे । कुर्ता च्यातेर अर्धनग्न बनाइदिए ।

कुटपिट हुँदै गर्दा भालुवाङ नगर विकास समितिका अध्यक्ष ओमप्रकाश बुढाथोकी र ऐरावती आदर्श बहुमुखी क्याम्पसका प्रमुख विष्णुप्रसाद भुसाल घटनास्थल पुगे । उनीहरूले कुटपिट नगर्न आग्रह गर्दा पनि दिलमायामाथि अत्याचार भइरह्यो । बुढाथोकी र भुसालको पटक–पटकको आग्रहपछि भने उनीहरूले कुटपिट गर्न छाडे ।

रेखा र अनिताले ५० हजारमा जग्गा बेच्न दिएको दबाब नमानेपछि आफूलाई घडेरीमै कुटपिट गरेको दिलमायाले बताइन् । त्यहाँबाट उम्केर भाग्दासमेत लखेटेको र बसपार्कमा समातेर फेरि कुटेको दुखेसो पोखिन् । ‘मलाई घडेरी भएकै ठाउँमा पिटे, त्यहाँबाट उम्किएर बसपार्कसम्म भागेँ । तर, त्यहाँ पुगेपछि फेरि समातेर लात्ती र मुड्कीले हाने । लगाएको कपडा नै च्यातिदिए । च्यातिएको कपडाको टुक्राले लाज छोप्न खोज्दा पनि दिएनन्,’ दिलमायाले सुनाइन् । आजको नयाँ पत्रिकामा खवर छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);