काठमाडौं, २६ जेठ । नवौं चरणको कोरियन भाषा परीक्षा सुरु भएको छ । वैदेशिक रोजगार विभागको रोजगार इपीएस कोरिया शाखाले ६३ जना कोरियन अधिकारीको उपस्थितिमा भाषा परीक्षा लिन सुरु गरेको हो ।
काठमाडौंका १६, ललितपुरका ८ र पोखराका ४ वटा परीक्षा केन्द्रमा भाषा परीक्षा लिईदै छ । परीक्षा भोलि पनि सञ्चालन हुने छ । परीक्षाका लागि ८२ हजार २ सय ६४ जनाले आवेदन भरेका थिए । मुलुकभित्र पर्याप्त अवसर नरहेको र पाएका अवसरमा पनि तलब सुविधा राम्रो नरहेको भन्दै युवाहरु कोरिया जानका लागि भाषा परीक्षामा सहभागी भएका हुन् ।
कोरियाले सन् २००८ देखि भाषा परीक्षा लिएर नेपाली कामदार लान थालेको हो । भाषा परीक्षा दिएर हालसम्म करिब ५० हजार नेपाली युवाहरु रोजगारीका लागि कोरिया पुगेका छन् । कोरियामा नेपाली कामदारले औसतमा मासिक २ लाख रुपैयाँ कमाउने गरेका छन् ।