प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको एक अर्ब, अझै पुग्न सकेन गृह मन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, २ भदौ । प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषले बाढी प्रभावितका लागि वितरण गर्न गृह मन्त्रालयलाई एक अर्ब रुपैयाँ निकासा दिने निर्णय गरेको छ। कोष सञ्चालक समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेको अध्यक्षतामा बुधबार बसेको बैठकले पहिलो किस्तामा ५० करोड र दोश्रो किस्तामा ५० करोड गरी एक अर्ब रुपैयाँ दिने निर्णय गरेको थियो। तर, सो रकम बिहीबारसम्म गृह मन्त्रालयमा पुगेको छैन।

 

गृहले मन्त्रालयकै केन्द्रीय दैवीप्रकोप उद्धार कोषमा रहेको रकम नै बाढी प्रभावित क्षेत्रमा पठाइएको जानकारी दिएको छ। गृह मन्त्रालयका सहायक प्रवक्ता झंक ढकालले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको रकम आउन ढिलाइ भए पनि रकम अभाव नभएको बताए। उनका अनुसार हालसम्म बाढी प्रभावित १८ जिल्ला र क्षेत्रीय प्रशासन कार्यालय हेटौँडामा गरी सात करोड १० लाख रुपैयाँ पठाइएको छ। दैवीप्रकोप उद्धार कोषमार्फत सो रकम जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ।

 

जिल्ला प्रशासन कार्यालयमार्फत बाढी प्रभावित क्षेत्रमा राहत वितरण गर्ने गरिएको छ। बाढीपहिरोलगत्तै विभिन्न दाताबाट प्रधानमन्त्री उद्धार कोषमा रकम जम्मा हुन थालेको छ। प्रधानमन्त्री कार्यालयका सहायक प्रवक्ता चिरञ्जीवी पौडेलले रकम जम्मा हुन थाले पनि त्यसको विवरण बिहीबारदेखि मात्रै लिइएको बताए। दातृ निकायलाई कोषको नाममा विभिन्न १८ वटा बैंकमा रहेको खाता नम्बर दिइएको छ।

 

बाढीले कृषिमा तीन अर्ब क्षति
तराईमा आएको बाढीले कृषि क्षेत्रमा करिब ३ अर्ब रुपैयाँबराबरको नोक्सानी गरेको कृषि विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहायक प्रवक्ता शंकर सापकोटाका अनुसार बाढीका कारण २ अर्ब ८६ करोड ४० लाख रुपैयाँबराबरको कृषिबाली नष्ट भएको छ। सबैभन्दा बढी धान बाली डुबानमा परेका कारण उत्पादनमा ह्रास आई नोक्सानी भएको मन्त्रालयले जनाएको छ।

 

पूर्वाञ्चल स् पूर्वाञ्चलमा ६५ करोड ५० लाख रुपैयाँबराबरको कृषि उपज नष्ट भएको छ। झापा, सुनसरी, मोरङ, सप्तरी, सिरहामा लगाइएको तरकारी, सञ्चित खाद्यान्न, माछा र थोरै मात्रामा धानबाली नष्ट भएको कृषि विकास मन्त्रालयले जनाएको छ।

 

मध्यमाञ्चल : मध्यमाञ्चलमा बाढीका कारण १ अर्ब ९५ करोड ७९ लाख ५० हजार रुपैयाँबराबरको कृषिबाली नोक्सान भएको छ। त्यस क्षेत्रमा २ लाख ३ हजार ३ सय ९४ हेक्टर खेतीयोग्य जमिनमा लगाइएको धान, तरकारी, माछा, मकै, बेसार, तरुल, रहर, मास, केरा, मकैको बिउ नष्ट भएको कृषि विकास मन्त्रालयले जनाएको छ। बाढीले पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, चितवन, रसुवा, रामेछाप र ललितपुरको कृषिबालीमा ठूलो क्षति गरेको छ।

 

पश्चिमाञ्चल : पश्चिमाञ्चलमा ५७ लाख रुपैयाँ मूल्यको कृषिबाली नष्ट भएको छ। म्याग्दी, रुपन्देही, कास्की, बाग्लुङ, गुल्मी र नवलपरासीमा लगाइएको धान, मकै, सुन्तलामा बाढीले नोक्सान गरेको छ।

मध्यपश्चिमाञ्चल : मध्यपश्चिमाञ्चलमा १५ करोड ४० लाख रुपैयाँबराबरको कृषिबाली नष्ट भएको छ। दाङ, बाँके र बर्दियामा लगाइएको धान, मकै, तरकारी, माछा, तेलहन र केराखेतीमा नोक्सान पुगेको छ।

सुदूरपश्चिमाञ्चल : सुदूरपश्चिमाञ्चलमा ९ करोड १३ लाख ९५ हजार रुपैयाँबराबरको कृषिबाली नोक्सान भएको छ। बझाङ, दार्चुला, बैतडी, कैलाली र डोटीमा लगाइएको सञ्चित खाद्यान्न, तरकारी, गहुँ, दाल, मकै, धान, केरा, बदाम, भटमास, मास, बोडीमा क्षति पुगेको छ। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);