एजेन्सी, २४ जेठ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले मन्त्रिपरिषद्मा महिलालाई ६१ प्रतिशत स्थान दिएका छन् ।समाजवादी प्रधानमन्त्री पेड्रोले १८ सदस्यीय मन्त्रिपरिषद्मा ११ जना महिला नियुक्त गरेका हुन् ।
मन्त्रिपरिषद्मा महिलाको यो उपस्थिति युरोपमा अहिलेसम्मकै सबैभन्दा धेरै भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । मन्त्रिपरिषद्मा महिलाहरुलाई रक्षा, अर्थ, शिक्षा, परराष्ट्र लगायत महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
समाजवादी नेतृ कारमेन काल्भोलाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तरिक्ष यात्री ५५ बर्षिय पेड्रो ड्युकलाई विज्ञानमन्त्री नियुक्त गरिएको छ । ड्युक सन् २००३ मा अन्तरिक्षमा गएका थिए ।
प्रधानमन्त्री सान्चेजले महिलाहरुको आन्दोलनको सम्मानस्वरुप मन्त्रिपरिषद्मा ११ महिलालाई स्थान दिइएको बताए । स्पेनमा ५० लाख महिला छन् । महिलाहरुले ज्यालामा असमानता र लैंगिक हिंसाको विरोधमा तीन महिना पहिले आन्दोलन गरेका थिए ।




