संगठित सुन तस्करीःभरिया थुनिन्छन्, साहु उम्किन्छन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

संगठित सुन तस्करीःभरिया थुनिन्छन्, साहु उम्किन्छन्

sahu

काठमाडौँ, २१ जेठ । काठमाडौंको गौशालानजिक पिंगलास्थानबाट २०७३ पुस २१ गते केही गहनासहित साढे ३३ किलो सुन बरामद भयो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उक्त घटनामा ३३ जनाविरुद्ध मुद्दा चलायो । त्यतिबेला पक्राउ परेकामध्ये सबै थुनामा रहे पनि एसएसपी श्याम खत्रीसहित ४ जना व्यापारी भने नाम मात्रको धरौटीमा छुटे ।

सुनकाण्डमा प्रत्यक्ष पक्राउ परेकासहित अन्य कुनै न कुनै प्रमाणका आधारमा संलग्न देखिएकालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको जिल्ला अदालत, काठमाडौं ४ व्यापारीका हकमा भने ‘उदार’ देखियो । न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले २०७३ चैत ४ गते गरेको आदेशमा राजेश शाक्य, सुनील श्रेष्ठ, सपन श्रेष्ठ र मनोज श्रेष्ठ प्रत्यक्ष संलग्न भएको नदेखिएको भन्दै उनीहरूलाई १र१ लाख रुपैयाँ धरौटीमा रिहा गरियो ।

प्रहरी प्रतिवेदन, जिल्ला सरकारी वकिलको कार्यालयको प्रतिवेदन र जिल्ला अदालत, काठमाडौंको आदेश केलाउने हो भने यो प्रकरणमा अनौठो घटनाक्रम देखापर्छ । सुनकाण्डमा पक्राउ परेका र तिनीहरूले मौकाको बयानका क्रममा ‘पोलेका’ प्रतिवादीलाई कठोरतासाथ पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको जिल्ला अदालतले एउटै गहनापसलका ४ आरोपितलाई भने १र१ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दियो ।

जबकि सुनकाण्डमा प्रत्यक्ष पक्राउ परेका आरोपितले नाम मुछेका अन्य आरोपित एवं संलग्न व्यक्तिहरूलाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । सुनकाण्डमा पक्राउ परेका रामहरि कार्कीले बयानका क्रममा आफूले पहिले पनि न्युरोडको वैभवलक्ष्मी गोल्ड एन्ड सिल्भर प्लासेज प्रालिका अध्यक्ष प्रमोद श्रेष्ठलाई सुन उपलब्ध गराएको भन्दै बरामद सुनको केही हिस्सामा समेत उनी संलग्न रहेको बताएका थिए ।

त्यस क्रममा प्रहरीले गरेको अनुसन्धानमा कार्की र वैभवका केही सञ्चालकबीच पटक–पटक सम्पर्क र कुराकानी भएको देखिन्छ । प्रहरीले त्यसकै आधारमा अरू गहना पसलकासाथै वैभवका सञ्चालकमाथि समेत मुद्दा दायर गरेको थियो ।

वैभवलक्ष्मी गोल्ड एन्ड सिल्भर प्लासेज प्रालिका सञ्चालकहरूले प्रहरीसँग एकै खालको बयान दिएका छन् । उनीहरूले प्रायस् सधैंजसो नगदमा कारोबार हुने गरेकामा कहिलेकाहीं मात्रै बैंक अफ काठमान्डु र नबिल बैंकको खातामा आम्दानी जम्मा हुने गरेको बताएका छन् ।

उनीहरूले आफूहरूलाई आवश्यक पर्ने सुन नेपाल सुनचाँदी व्यवसायी संघ, नेपाल सुनचाँदी रत्न आभूषण महासंघको सिफारिसबाट खरिद गरेको भन्दै व्यक्तिगत रूपमा सुन खरिद नगरेको दाबी गरेका छन् । हुबहु एकै व्यहोराको बयानमा उनीहरूले भनेका छन्, ‘प्रमोद श्रेष्ठले व्यक्तिगत रूपमा खरिद गरेको हुन सक्छ, हामीलाई थाहा भएन ।’ तर श्रेष्ठ भने त्यतिबेला फरार थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको प्रतिवेदनअनुसार न्युरोडको वैभवलक्ष्मी गोल्ड एन्ड सिल्भर प्लासेज प्रालिमा अध्यक्ष श्रेष्ठसहित रोजेश शाक्य, सुनील श्रेष्ठ, सपन श्रेष्ठ र मनोज श्रेष्ठ लगानीकर्ता एवं सञ्चालक हुन् ।

कार्कीले बयानका क्रममा यसअघि समेत बरामद सुनमध्ये केही वैभवलक्ष्मी गोल्ड एन्ड सिल्भर प्रालिका सञ्चालकलाई दिने गरेको भनी खुलाए । साथै उनले पछिल्लो पटक बरामद भएको सुनमध्ये ६० पिस वैभवका सञ्चालक श्रेष्ठलाई दिएको समेत बताएका छन् ।

गहना पसलहरूले सुन खरिदका लागि सुनचाँदी व्यापारमा संलग्न विभिन्न संगठनमध्ये एकको सिफारिस लिनुपर्छ । राष्ट्र बैंकको परिपत्रअनुसार एउटा व्यवसायीले एउटा संघ वा महासंघबाट मात्रै सुन खरिदको स्वीकृति लिन पाउने व्यवस्था थियो । तर वैभवले नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ, नेपाल सुनचाँदी कला व्यवसायी संघ, नेपाल सुनचाँदी सिल्प व्यवसायी संघ, रत्न व्यवसायी संघ नेपाल र ललितपुर रत्न तथा आभूषणमध्ये कुनै संघसँग अनुमति नलिएको भेटिएको छ ।

‘ती ज्वेलर्सले सुन बरामद हुनुअघि कानुनी रूपमा नेपालमा सुन खरिद गरेको नदेखिएकाले,’ प्रहरी प्रतिवेदनमा भनिएको छ, ‘उनीहरूको यो क्रियाकलापले पनि सुन अवैध आयातमा सञ्चालकहरू संलग्न रहेको देखिन्छ ।’

यसबाहेक प्रमोद श्रेष्ठ अध्यक्ष रहेको वैभवका सञ्चालकहरूले वैधानिक रूपमा नै सुन खरिद गरी बेच्ने गरेको दाबी गरेका थिए । उदाहरणका लागि पक्राउ परेका सञ्चालक रोजेश शाक्यले नेपाल सुनचाँदी व्यवसायी संघबाट दैनिक ५० देखि १०० ग्रामका दरले सुन खरिद गरिएको बयान दिएका थिए ।

२ हजार ८ सय २० तोला तौलका २ सय ८२ वटा बिस्कुट बरामद भएको उक्त प्रकरणमा रामहरि कार्कीले ६० पिस वैभवका सञ्चालक प्रमोदलाई दिएको स्विकारेका थिए । एउटा बिस्कुट करिब १० तोलाको हुने भएकाले त्यो खेपमा वैभवका सञ्चालकले ६ सय तोला सुन खरिदका लागि मौखिक बुकिङ गरेको देखिन्छ ।

सुन तस्करीमा मुछिएका एक आरोपितबाट बरामद बिलमा समेत वैभवसँगको लेनदेन खुलेको थियो । तर न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले तत्काल प्राप्त प्रमाणले फरार रहेका प्रमोदबाहेकका सञ्चालक अवैध सुन खरिदमा ‘संलग्न नदेखिएको’ निष्कर्ष निकाल्यो । ‘चार जना प्रतिवादी वैभवलक्ष्मी गोल्ड एन्ड सिल्भर प्लासेज प्रालिका सञ्चालक रहेको देखिन्छ ।

पक्राउ परेका रामहरि कार्कीले प्रमोद श्रेष्ठलाई सुन दिने गरेको भनी बयान गरेको देखिन्छ,’ थुनछेक आदेशमा भनिएको छ, ‘श्रेष्ठबाहेक अन्य प्रतिवादीसँग लिन जानु, सम्पर्क, सम्बन्धसमेत केही रहेरभएको भन्ने देखिन आएन । पोल गरेको देखिन आएबाट र सञ्चालकहरू भएको देखिँदा पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई एक लाख रुपैयाँका दरले धरौटी माग्नू ।’

तहगत संरचनामा हुने संगठित अपराधका घटनामा पर्दापछाडि रहने मुख्य योजनाकारले अन्य व्यक्तिहरू परिचालित गरी आफ्नो धन्दा चलाउँछन् । यस्ता अपराधको पर्दाफाससमेत ‘ग्राउन्ड’ मा रहेर काम गर्ने साना तहका व्यक्तिमार्फत हुन्छ । अदालतले भने यो घटनामा तत्काल प्राप्त प्रमाणले कसुरदार भन्न नमिल्ने भन्दै आदेश जारी गरेको छ । आजको कान्तिपुर दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);